|

काठमाडौं : कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ। एकैदिन ८ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको छ। त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ।

यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌। पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन्‌। 

बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ। त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन्‌। अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌।

श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन। अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌।

भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये ४५ जनाको उपचार भइसकेको छ। पाकिस्तानमा २१, बंगलादेशमा ११, अफगानिस्तानमा दुई, श्रीलङ्कामा सात, माल्दिभ्समा आठ जनाको उपचार भइसकेको छ। नेपालमा हालसम्म भेटिएका तीन संक्रमितमध्ये एकजनाको उपचार भइसकेको छ भने दुई जना उपचाररत छन्‌। भुटानमा भेटिएका दुवै संक्रमित अहिलेसम्म निको हुन सकेका छैनन्‌।

दक्षिण एसियाली मुलुकमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २१९० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.