|

काठमाडौं : नोभल कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कान्तिपुर मिडिया ग्रुपले आफ्ना सबै पत्रिकाको प्रकाशन तत्कालका लागि लागि बन्द गरेको छ। 

कोरोना भाइरस विश्‍वका १९५ देशमा पुगिसकेको अवस्थामा कान्तिपुरले तत्कालका लागि आफ्ना सबै प्रिन्ट संस्करण शुक्रबारदेखि बन्द गर्ने निर्णय लिएको हो। 

'आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं', कान्तिपुर मिडियाको तर्फबाट अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीयमार्फत भनेका छन्, 'जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्।'

२०४९ सालमा स्थापना भएदेखि कान्तिपुरले निरन्तर प्रकाशन गर्दै आएको थियो। कान्तिपुर मिडियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकियमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्। 

कान्तिपुर मिडियाको यो कदमसँगै मिडिया हाउस पनि छापा प्रकाशन रोकेर अनलाइन संस्करण मात्रै चलाउने तयारीमा लागेका छन्। कान्तिपुरले कोरोनाको त्राससँगै आफ्ना दैनिक प्रकाशनलाई ८ पृष्ठमा झारेको थियो। कान्तिपुर मिडियाले ई-कान्तिपुर डटकम र दि काठमाडौं पोस्ट डटकम भने यथावन सञ्चालन भइरहने जनाएको छ। 

पत्रिकाबाट कोरोना? 

विश्व स्वास्थ्य संगठनले निकालेको एड्भाइजरीमा पत्रिका पढ्दा फरक नपर्ने बताएको छ। तर, यो कुरा विकसित मुलुकको हकमा लागू हुन्छ। विकसित देशमा अत्याधुनिक प्रिन्टिङ प्रेस रहेकाले नयाँ प्रविधि अपनाइएको हुन्छ। नेपालमा पुरानै शैलीमा पत्रिकाहरु चलिरहेका छन्। 

प्रेसबाट पत्रिका छापिएर हाम्रो घरसम्म आइपुग्दा अनेक व्यक्तिले छोएका हुन्छन्। पत्रिकामा स्यानिटाइज गर्न पनि सम्भव हुँदैन। कोरोना भाइरसबाट बच्नका केही दिन पत्रिका नपढ्ने सुझाव विश्वका विभिन्न देशका विज्ञहरुले दिएका छन्। यस्तो अवस्थामा नेपालका पत्रिकाहरु पनि बन्द हुन थालेका हुन्।

यसअघि नेपालमा साप्ताहिक पत्रिकाहरु पनि बन्द गर्ने निर्णय लिइएको थियो। करिब ७ वटा साप्ताहिकहरुका सम्पादकले तत्काललाई पत्रिका प्रकाशन नगर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.