|

बर्दिया : बर्दियाका स्थानीय तहहरूले भारतलगायत अन्य बाहिरी देशबाट आएका व्यक्तिहरूको पहिचान गर्न थालेका छन् । कोरोनाविरुद्धको अभियानअन्तर्गत बर्दियामा घरघर पुगेर स्थानीय तह र सरोकारवालाले तदारुकता देखाएका हुन्। 

नेपालमा लकडाउन नहुँदै र लकडाउनकै बेला पनि छिमेकी मुलुक भारत तथा अन्य मुलुकबाट घर फर्किएका व्यक्तिहरूको खोजी गरी स्वास्थ्य परी थालिएको छ। 

ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाले घरघरै पुगेर यस्तो कार्य थालेका हुन्। बिहीबारबाट सुरु गरिएको अभियानमा ठाकुरबाबा नगरपालिकाले एक जना स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सुरक्षा निकाय गरी प्रत्येक वडामा ४ जनाको टोली खटाएको जनाइएको छ।

टोलीले बाहिरबाट आएका व्यक्तिको पहिचान गरि उसको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, परामर्श दिने र घरमा सुरक्षित भएर बस्न आग्रह गरेको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाको कुनै पनि लक्षण देखिए तुरुन्त क्वारेन्टाइनमा लगेर राखिने स्वास्थ्यकर्मीले जनाएका छन्।

स्वास्थ्य जाँच तथा परामर्श टोली ठाकुरबाबा नगरपालिकाका ९ वटै वडामा परिचालन गरिएको ठाकुरबाबा नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए । टोलीले २ देखि ४ दिनभित्रै काम सक्ने बताएका छन्।

स्थानीय सरकारको यस कदमसँग निजी स्वास्थ्य संस्थाले पनि सघाउन थालेका छन्। बाहिरबाट घर आएकाहरूको सही विवरण दिएर गाउँटोलका सबैले यसमा सहयोग पु¥याउन स्थानीय तहले अनुरोध गरेका छन् । सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपले पालना गर्न स्थानीय सरकारहरूले सामाजिक सञ्जाल तथा माइकिङबाट दिनहुँजसो अनुरोध गर्ने गरेका छन्।

झोलुंगे पुलमा ताला

यसैगरि बारबर्दिया नगरपालिकाले आफनो पालिकामा प्रवेश गर्ने एउटा झुलुंगे पुलमा ताला लगाएर आवागमन बन्द गरेको छ। सरकारले लकडाउन गर्दागर्दै पनि मानिसको आवतजावत नरोकिएको भन्दै बारबर्दिया नगरपालिकाले चैत्र १८ गते सम्मका लागि कुसुम्बाघाटको झुलुंगे पुल बन्द गरेको हो। 

ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ । गुलरिया, बारबर्दिया, मुधवन र बाँसगढी नगरपालिकाले क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाइसकेका छन् । त्यस्तै राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र बढैयाताल गाउँपालिकाले निर्माण कार्यलाई अघि बढाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.