|

लमजुङ : लमजुङमा कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न तथा नियन्त्रणका लागि तयार पारिएका क्वारेन्टाइनमा २२ जनालाई राखिएको छ। क्होलासोँथार  गाउँपालिकाका १३ र मध्यनेपाल नगरपालिकाका नौजना गरी २२ जनालाई क्वारेनटाइनमा राखिएको हो।

सम्बन्धित स्थानीय सरकारको पहलमा लकडाउन हुनअघि विदेशबाट आएका स्थानीयलाई क्वारेन्टाइनमा राखिएको हो। जिल्लामा करिब ६०० शय्याको क्वारेनटाइन निर्माण गरिएको छ।

क्होलासोँथारको टक्सारस्थित थल्जुकन्या प्राविमा आठजना र घाम्राङबेशीको चन्द्र प्राविमा पाँचजना क्वारेन्टाइनामा राखिएको जनाएको छ। लकडाउनु हुनपूर्व विदेशबाट आएका दुईजना र तिनको परिवारलाई शुक्रबारदेखि क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पिताम्बर सारुले बताए।

गाउँपालिकाले संकलन गरेको तथ्यांकअनुसार क्होलासोँथरमा लकडाउन हुनपूर्व विभिन्न देशबाट आउनेको संख्या १७ जना रहेको छ। तीमध्ये दुईजनालाई परिवारसहित शुक्रबारदेखि क्वारेन्टाइनमा राखिएको र बाँकी १५ जनालाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। जिल्लाबाहिर र विदेशबाट आएका व्यक्तिले विशेष सावधानी अपनाउन र क्वारेन्टाइनमा बसिदिन आग्रह समेत गरेको छ।

यसैगरी पश्चिम लमजुङको मध्यनेपाल नगरपालिकाभित्रका नौजनालाई क्वारेनटाईनमा राखिएको छ। नगरप्रमुख रमेशकुमार पाण्डेका अनुसार वडा नम्बर ७ को कुष्माकर माविमा तीन र वडा नम्बर ६ स्थित इशानेश्वर माविमा ६ जना क्वारेनटाइनमा बसेका हुन्।

नगरपालिकाले दुईपिप्ले र सोतिपसलमा समेत क्वारेनटाइन निर्माण गरेको र एकसाता अघिसम्म विदेशबाट फर्किएकाहरुलाई क्वारेनटाइनमा राख्ने तयारी गरीएको नगरप्रमुख पाण्डेले बताए। नगरपालिकाले पालिकाभित्रका दैनिक ज्यालामा काम गर्दै आएका मजदुरहरुलाई खानाको व्यवस्थापन पनि गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.