|

डोल्पा : विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर  नफैलियोस् भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट गाउँका सम्पूर्ण महिलाहरुले अद्भुत शक्तिपीठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरेका हुन्।

स्थानीय धामीझाँक्री र पण्डितहरूले विश्वभर फैलिरहेको कोराना भाइरस रोगको प्रकोप कम गर्न महाकालीको पूजाआजा सँगै स्मरण गर्न सिकाएकाले विधिवत रुपमा महाकालीको पूजा गरी देशवासी र जिल्लावासी कुशलताको कामना गरिएको आमा समूह त्रिपुराकोटका अध्यक्ष भगवती न्यौपानेले बताइन्।

त्रिपुरासुन्दरी मन्दिर देवीहरूको पूर्णपीठ भएकाले देशमा अखट विखट आइपर्दा यसरी नै पूजा गर्ने गरेको र यसो गर्दा शान्ति कायम हुने रोगव्याधि हट्ने विश्वास रहेको न्यौपानेले बताइन्।

संसारमा जुन घटना घट्छ सबै ईश्वरको अधीनमै हुने भएको बताउँदै भगवानको स्मरण गर्ने भक्तलाई परेका दु:खकष्ट पनि सहजै हरण हुने र कोरोनाको प्रकोप जिल्लामा नफैलिने महिलाहरुको विश्वास छ।

महाकाली देवीलाई कालनास गर्ने, महामारी रोग नास गर्ने, दु:ख नास गर्ने, भयनास गर्ने, विश्व संकट हरण गर्ने देवीको रुपमा चिनिने र उनको विशेष पूजाआजा गर्नाले सम्पूर्ण संकट हट्ने त्रिपुरासुन्दरी मन्दिरका पूजारीहरूले बताए।

महिलाहरुले शुक्रवार बेलुकीदेखि मन्दिरमा ध्वनि जगाइ जाग्राम बसेर शनिबार बिहान गंगामा नुहाइधुवाइ गरेर महाकाली देवीको पुजाआजाको सुरुवात गरेका थिए।

सरकारले लकडाउन घोषणा गरेकाले प्रहरीले मन्दिरमा सम्पूर्ण महिलाहरूलाई जमघट गर्न भने दिएको छैन। त्रिपुरासुन्दरीमा दर्शन गर्नका लागि देश विदेश बाट भक्तजनहरु आउने गर्छन्। यहा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.