|

कञ्चनपुर : चिकित्सकसहितको टोली परिचालन गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ स्थित सिंहपुर सामुदायिक वनका पदाधिकारीले उपभोक्ताको घर घरमा पुगेर कोरोना भाइरसबारे जानकारी दिँदै मास्क र स्यानिटाइजर बाँडन थालेका छन्। 

तीन जनाको तीनवटा समूह बनाई सामुदायिक वनका पदाधिकारीहरूले कोरोना भाइरस सर्ने तरिका र यस बाट बच्ने उपायका बारे उपभोक्ताको घरमै पुगेर जानकारी दिन थालेका हुन्।

भारतलगायत बैदेशिक रोजगारबाट तेश्रो मुलुक भएर आएका व्यक्तिको तथ्यांक लिने कार्य समेत भइरहेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताए।
 'भारतलगायत तेश्रो मुलुकबाट आएकालाई घरमै अलग्गै रुपमा क्वारेन्टाइनमा राख्न सल्लाह दिने गरेका छौं' उनले भने, ‘सँगै रहेका चिकित्सकमार्फत स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था समेत गरेका छौं।’

एक मानवदेखि अर्को मानवको सम्पर्कले मात्रै कोरोनाको भाइरस सर्ने भएकाले घरमै बस्दा समेत सामाजिक दूरी कायम गर्नुपर्ने र सकभर घर भन्दा बाहिर हिडडुल नगर्न सल्लाह दिइने गरेको उनले बताए। सामुदायिक वनका पदाधिकारीले सचेतना अभियानसँगै स्यानिटाइजर र मास्क वितरण गर्ने कार्यमा सिंहपुर युवा क्लवका युवाले समेत सघाएका छन्।

टोलीसँगै रहेका चिकित्सक फुलराम चौधरीले  कोरोना भाइरसको चेन टुटाउनका लागि सबै भन्दा उत्तम उपाय समाजिक दूरी नै एक मात्रै उपाय रहेको बताए।
भाइरस सर्न नदिनु नै उत्तम उपाय हो उनले भने, ‘यसका लागि सजगता अपनाउनु पर्छ। लकडाउनको प्रभावारी रुपमा समर्थन गर्न जरुरी छ। यसमा सबैले साथ दिइ महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई पराजित गर्नु पर्छ।’

सामुदायिक वनले स्यानिटाइजरका लागि दुई लाख र माक्स खरिदका लागि ७५ हजार रुपैयाँ रकम खर्च गरेको छ। मास्क र स्यानिटाइजर चारसय ५० परिवारका तीन हजार दुईसय जनालाई बाँडने लक्ष्य लिएको छ। हालसम्म तीनसय ५० घरघुरीलाई मास्क र स्यानिटाइजर वितरण गरिएको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताए।

'मास्क र स्यानिटाइजर वितरण मात्रै गरेका छैनौं' उनले भने, ‘मास्क र स्यानिटाइजरको कस्तो समयमा प्रयोग गर्ने भन्नेबारे समेत उपभोक्तालाई बताएका छौं।’ सावुन पानीले प्रत्येक आधा घण्टामा हात धुन र व्यक्तिगत सरसफाइमा जोड दिन समेत उपभोक्तालाई भन्दै आएको उनले बताए।

सामुदायिक वनका तर्फबाट इलाका प्रहरी कार्यालयलाई मास्क स्यानिटाइजर र सावुन उपलव्ध गराइएको छ। सिंहपुर टोलामा युवाले छेकवार लगाई बाह्य क्षेत्रका बासिन्दालाई छिर्न निषेध समेत गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.