|

म्याग्दी : जिल्लामा चैत १ गतेदेखि यता विदेशबाट आएका ८० मध्ये १९ म्याग्देलीलाई शनिबार सदरमुकाम बेनीबजारमा निर्माण गरिएको क्‍वारेन्टाइनमा ल्याइएको छ। जिल्ला विपद् व्यवस्थापन समितिअन्र्तगत गठन भएको कमान्ड पोस्टको निर्णयअनुसार चैत १ गतेदेखि विदेशबाट आएका सबैलाईक्‍वारेन्टाइनमा राख्न सुरु गरिएको हो। 

शनिवार बेनी नगरपालिकाका १६, मंगला, अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकाका १÷ १ जना गरी १९ जनालाई बेनीस्थित न्यु वेस्ट पोइन्ट आवसीय माविमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई छुट्टाछुट्टै कोठामा निःशुल्क खाना, खानासहित इन्टरनेटसमेत सुविधा दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। 

अटेर गर्नेलाई फोर्स क्‍वारेन्टाइनमा राखिने

शनिबार बसेको कमान्ड पोस्टको बैठकले अटेर गरेकालाई स्थानीय तहका सरकारसँगको समन्वयमा फोर्स क्‍वारेन्टाइनराख्ने निर्णयसमेत गरिएको प्रजिअ ढकालले बताए।  कोभिड–१९ रोकथामका लागि बाहिरी मुलुकबाट आएका सबैलाई क्‍वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने र उनीहरूको रिपोर्टका आधारमा आवश्यक कदम चालिने जनाइएको छ।

अहिले न्यू वेस्ट प्वाइन्टमा २३ बेड र माउन्ट एभरेस्टको हिलसाइट भवनमा १० बेड क्षमताको क्‍वारेन्टाइन निर्माण गरिएको छ। रघुगंगा गाउँपालिकाले सबै वडामा क्‍वारेन्टाइन बनाइसकेको छ। मालिका गाउँपालिकाले पनि दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविमा ७ शैयाको र अन्‍नपूर्ण गाउँपालिकाले सर्वोदय माविमा ६ बेड क्षमताको क्‍वारेन्टाइन बनाएका छन्।

चैत १ गतेदेखि यता विदेशबाट आएकाहरु आआफ्नो स्थानीय तहमा रहेका क्‍वारेन्टाइनमा नबसे आइतबारदेखि नियन्त्रणमै लिएर भए पनि राखिने कमान्ड पोस्टका सदस्यसमेत रहेका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए।  त्यसका लागि जिल्लास्थित सरकारी कार्यालयका सवारी साधनलाई अलर्ट राख्न निर्देशन दिइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.