आइसोलेटेड एम्बुलेन्सदेखि खाद्यान्‍न व्यवस्थापनकाे माग

|

झापा : विदेशबाट आउने नेपाली नागरिकमा कोरोना संक्रमण बढ्न थालेपछि भारतसँग सीमा जोडिएको झापामा पनि जिल्ला प्रहरी कार्यालय झापा र त्यसका मातहतमा रहेका प्रहरी कार्यालयहरूले स्वदेश फर्किनेहरूको तथ्यांक संकलन गर्दै विवरण तयार गर्दैछ। अहिलेसम्म झापामा सङ्क्रमित बिरामी भेटिएको छैन। तर, यसको रोकथाम र व्यवस्थापनका लागि सबै तह तथा निकाय लागि परेका छन्। 

५ सय बढीको तथ्यांक संकलन  

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय झापाले स्वदेश फर्किनेहरूको तथ्यांक संकलन गर्न गरिरहेको छ। 
हालसम्म जिल्लामा ५ सय बढीको विवरण संकलन भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रहरीले सबैको सहयोगमा स्वदेश फर्किनेहरूको खोजी सुरु गरेको थियो। 

स्वदेश फर्किनेहरूको घरघर पुगेर तिनीहरूको स्वास्थ्य अवस्था, कहिले फर्किएको, कसरी नेपाल प्रवेश गरेको र आएपछि कहाँ बसेको, को–कोसँग भेटघाट गरेको, सेल्फ क्‍वारेन्टाइनमा बसेको वा नबसेको लगायतका सबै विवरण संकलन गरेको उनले बताए। 

भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी देखा परेपछि दुई जनालाई मेची अञ्‍चल अस्पताल भद्रपुरको आइसोलेसनमा र पाँच जनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्‍वारेन्टाइनमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले जानकारी दिए। 

परिवारका एक सदस्य कतारबाट फर्किएको डेढ महिनापश्चात् उनीहरूको स्वास्थ्य अवस्था यस्तो देखापरेको हो। जिल्लामा हरेक दिन आइसोलेसन, क्‍वारेन्टाइन र सेल्फ क्‍वारेन्टाइनमा राख्ने संख्या बढिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए। उनका अनुसार मेची अस्पतालमा दुई जना आइसोलेसनमा उपचार भइरहेको छ, अस्थायी क्‍वारेन्टाइनमा ८१ जना र सेल्फ क्‍वारेन्टाइनमा ५ सय ६३ छन्। अस्थायी क्‍वारेन्टाइनतर्फ मेचीनगरमा ३४ जना, झापा गाउँपालिकामा १३ जना, कनकाई र भद्रपुरमा ७÷७ जना, अर्जुनधारामा ६ जना, दमकमा ४ जना, शिवसताक्षी र बाह्दशीमा ३÷३ जना, बिर्तामोड र हल्दिबारीमा १÷१ जनाको उपचार भइरहेको छ। 

त्यस्तै सेल्फ तथा होम क्‍वारेन्टाइनतर्फ मेचीनगरमा १ सय ८६, अर्जुनधारामा ७०, बुद्धशान्तिमा ६४ जना, हल्दिबारीमा ३९ जना, झापा गाउँपालिकामा ३३ जना, दमकमा ३० जना, भद्रपुरमा २७ जना, बिर्तामोडमा २३ जना, कमलमा १७ जना, बाह्दशीमा १५ जना, गौरदाह र कचनकवलमा १४र १४ जना, कनकाईमा १३ जना, शिवसताक्षी र गौरीगञ्जमा ९÷९ जना रहेको उनले बताए। 

जिल्लाको तथ्यांकअनुसार १५ वटै स्थानीय तहमा ३ सय ६१ बेड क्षमताको अस्थायी क्‍वारेन्टाइन छ। उपचार कोष स्थापनासँगै थप एक सय बेडको क्‍वारेन्टाइन बनाउने निर्णय भइसकेको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए।  

सबै अस्पताल खुला राख्‍न निर्देशन   

जिल्ला विपद् व्यवस्थापन समिति झापाले जिल्लाका सबै अस्पतालको गेट २४ घण्टा खुला राख्न निर्देशन दिएको छ। झापाका अस्पतालले दीर्घरोगका बिरामी तथा आकस्मिक उपचारमा आएका बिरामीलाई गेटबाटै फर्काउने गरेको समाचार सार्वजनिक भएपछि समितिले निजी अस्पतालका सञ्चालकहरूलाई यस्तो निर्देशन दिएको हो। जिल्ला विपद् व्यवस्थापन समिति र झापाका निजी अस्पतालका सञ्चालकहरूसँगको शनिबारको बैठकबाट आकस्मिक सेवा सञ्चालन गर्ने निर्णय गरी निर्देशन दिइएको समिति सदस्य एवं नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष लोकराज ढकालले जानकारी दिए। 

ढकालले निजी हस्पिटलका गेटहरू शनिबारदेखि नै खुला राखिने र सबै हस्पिटलमा फिवर क्लिनिक चलाउने बैठकमा निर्णय भएको बताए। जिल्लामा सञ्चालित बि एन्ड सी, मनमोहन, बिर्ता सिटी, अञ्जली, भद्रपुरको ओमसाई पाथीभरा र सरकारी अस्पताल मेची अञ्चल अस्पतालले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका थिए।

आइसोलेटेड एम्बुलेन्सदेखि खाद्यान्‍न व्यवस्थापनको तयारीमा 

झापाका १५ वटै पालिकाले आ–आफ्नो स्थानीय तह भित्रका विपन्न नागरिकहरूको स्थलगत विवरण संकलन गरी आवश्यक खाद्यान्न व्यवस्थापन तयारी गर्न निर्देशन दिएका छन्। बिर्तामोड र दमक नगरपालिकाको कार्यालयमा शनिबार बसेको कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो।

समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको बैठकमा सबै स्थानीय तहले एक–एक वटा आइसोलेटेड एम्बुलेन्स तयारी अवस्थामा राख्ने, लकडाउनलाई प्रभावकारी बनाउन तथा टोल टोलका सूचना संकलन गर्न टोल विकास समितिहरूलाई स्वयंसेवकको रूपमा परिचालन गर्ने, खाद्यान्न पसलहरू खुला राख्ने व्यवस्था मिलाउने, तरकारी तथा फलफूलजस्ता खाद्यान्न सामग्री सकेसम्म घरघरमा पुर्‍यााउने गरी आपूर्तिको व्यवस्थापन गर्ने, सबै प्रकारका स्वास्थ्य संस्था तथा अस्पतालहरू पूर्ववत रूपमा नै सञ्चालन गर्न व्यवस्थापन गर्ने निर्णय भएको छ। 

बैठकले प्रत्येक स्थानीय तहले सुविधासम्पन्न एक सय बेडको क्‍वारेन्टाइन पाँच दिनभित्र व्यवस्थापन गर्नुपर्ने, सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन, इन्धन र सुरक्षाकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा उपकरणको व्यवस्था प्रत्येक स्थानीय पालिकाहरूले गर्ने, दमक नगर पालिकास्थित दमक अस्पतालमा न्यूनतम पाँच बेडको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको अध्यक्ष पोर्तेलले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.