|

इकमान लामा

काभ्रे : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई थप फैलन नदिनका लागि जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिकाले स्वास्थ्य संस्था नजिकका विद्यालय भवनलाई क्वारेन्टाइन कक्ष बनाएका छन्। गाउँपालिकाका ७ वटा वडानजिकै रहेका माध्यमिक विद्यालयहरुलाई गाउँपालिकाले क्वारेन्टाइन कक्ष बनाएका हुन्।

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालका अनुसार ७ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। त्यसैगरी, मकवानपुर र काभ्रेको सिमाना सिक्रे दोभानमा एक साताको लागि हेल्थ डेस्क राखिएको अध्यक्ष खुलालले बताए।

‘अहिले हामीले काभ्रे र मकवानपुरको सिमाना सिक्रेदोभानमा एक साताको लागि हेल्थ डेस्क राखेका छौँ, गाउँपालिकाभित्र रहेको स्वास्थ्य संस्थामा हेल्थ डेस्क राखेका छौँ’ अध्यक्ष खुलालले थाहाखबरसँग टेलिफोनमा भने, ‘स्वास्थ्य संस्था नजिकका विद्यालयहरुलाई क्वारेन्टाइन बनाउने निर्णय गरेका छौँ।’

जसअनुसार गाउँपालिकाले–१ को धार्नेमा हेल्थ डेस्क स्थापना गर्ने र नजिकै रहेको धार्नेज्योति माध्यमिक विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने, वडा नं. २ को फलामेटार स्वास्थ्य चौकीमा हेल्थ डेस्क सञ्चालन गर्ने र नजिकै रहेको बालविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ।

त्यसैगरी वडा नं. ३ को भृकुटी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ। वडा नं. ४ को डाँडागाउँ स्वास्थ्य चौकी र जगथलीमा हेल्थ डेस्क स्थापना भएको छ। जगथलीकै कुमारी माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ। त्यसैगरी वडा नं. ५ को ताल्ढुंगामा हेल्थ डेस्क स्थापना गर्दै जनविकास माध्यमिक विद्यालयलाई क्वारेन्टाइन बनाउने भएको छ।

वडा नं. ६ को साल्धारा स्वास्थ्य चौकीमा हेल्थ डेस्क निर्माण भएको छ भने शारदा माध्यमिक विद्यालयमा क्वारेन्टाइन स्थापना हुने भएको छ। वडा नं. ७ को मिल्चे स्वास्थ्य चौकीमा हेल्थ डेस्क स्थापना गरिएको छ। यहाँकै बुद्ध माध्यमिक विद्यालयलाई क्वारेन्टाइन कक्ष बनाउने निर्णय भएको छ।

विदेशबाट आउनेलाई एम्बुलेन्समार्फत सिधै टेकु लगिने

यसैबीच गाउँपालिकाले विदेशबाट आउनेहरुको तथ्यांक संकलन थालेको छ। गाउँपालिका अध्यक्ष खुलालका अनुसार उनीहरुको तथ्यांक संकलन गरी क्वारेन्टाइनमा पठाउन गाउँपालिकाले तयारी थालेको छ।

उनीहरुलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएको खण्डमा गाउँपालिकाको एम्बुलेन्समार्फत् टेकु अस्पताल लैजाने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ। ‘त्यस्तो लक्षण देखा पर्ने बिरामी देखिएमा गाउँपालिकाले एम्बुलेन्समार्फत् अस्पताल पुर्‍याउने निर्णय गरेको छ’ अध्यक्ष खुलालले भने।

लेखापाल अधिकारी पनि स्वास्थ्यकर्मीसँग खट्दै

त्यसैगरी गाउँपालिकाका लेखापाल राजन पराजुली पनि गाउँपालिकाका स्वास्थ्यकर्मीसँगै हेल्थ डेस्कमा खटिएका छन्। स्वास्थ्यकर्मीको अभाव देखिएपछि उनी हेल्थ डेस्क र गाउँ–गाउँमा जनचेतना फैलाउन खटिएका हुन्।

‘जनचेतना जगाउन र स्वास्थ्यकर्मीलाई सघाउन म खटिरहेको छु’ उनले भने। गाउँपालिकाभरी अहिले २४ जना स्वास्थ्यकर्मी कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.