कष्टपूर्ण हुँदो रहेछ खाली समय

|

काठमाडौ : महामारीका रुपमा देखा परेको कोरोना भाइरसले विश्‍वलाई नै आक्रान्त बनाएको छ। यसको प्रभावबाट नेपाल पनि अछुतो रहेन। सरकारले एक सातादेखि देशभर लकडाउन गरेको छ। 

लकडाउनका कारण देशभरका करीब तीन करोड मानिस घरमा बसिरहेका छन्। आज नेपालमा  लकडाउन भएको छैटौँ दिन हो। यो बेला नेपालका सबै बजार बन्द छन्, सडक खाली भएका छन्। यातायात ठप्प छ। सर्वसाधरणदेखि सेलिब्रिटीसम्म अहिले घरमा सीमित भएका छन्। अरुबेला सधैँ व्यस्त हुने सर्जकहरुलाई पनि अहिले दिन काट्न मुस्किल परिरहेको छ। आखिरी सर्जक, सेलिब्रिटीहरुले कसरी दिन बिताइरहेका छन् त? थाहाखबरले केही सर्जकहरुसँग बुझ्‍ने कोशिस गरेको छ।

बिमलराज क्षेत्री, गायक

मैले आजसम्म यस्तो नियति भोगेको थिइनँ। कुनै बेला फुर्सद नै हुँदैन थियो। अहिले फुर्सद नै फुर्सद। सरकारले निर्णय मान्‍नु हरेक नागरिकको कर्तव्य हो। यो बेला कर्तव्य मात्रै होइन, असल नागरिकको पहिचान पनि हो। अहिले फुर्सदको बेला गीत सिर्जना गरिरहेको छु। केही गीतहरु यो संक्रमण सकिएपछि बजारमा ल्याउने तयारीका साथ फुर्सदलाई सदुपयोग गरिरहेको छु। 

बिहान उठ्ने, रियाज गर्ने, गीत सिर्जना गर्ने, खाना बनाउन परिवारलाई सहयोग गर्ने काम बाहेक अरु केही छैन। कोरोना भाइरसका कारण यातायात र बजार सबै ठप्प छन्। कुनै बेला हामीसँग स्रोत र साधन थिएनन्। जे थियो, त्यही खान्थ्यौँ। अहिले हामीसँग स्रोत साधन छन्। र, पनि हामीसँग जे छ त्यसैले काम चलाउनु परेको छ। लकडाउनको प्रभाव बढ्दै जाँदा सायद हामी ढुङ्‍गेयुगतिर पो फर्किँदै छौ कि भन्‍ने लाग्‍न थालेको छ।

विनोद बानियाँ, गायक

शिक्षण, व्यावसाय र गायनमा ब्यस्त थिएँ। तर अहिले लकडाउनले  घरमा बसेको छु। बिहान अबेरसम्म सुत्‍नु, गीत रियाज गर्नु नै मेरो दैनिकी हो। खाना बनाउन परिवारलाई सघाउँदा पनि आनन्दको आउँदो रहेछ। यो लकडाउनले बालककालका साथीहरु कहाँ कहाँ पुगे भनेर खोजी गरें। ती सबै साथीहरुको अनुहार पनि भुलें कि डर थियो। उनीहरुसँग बिताएका पुराना दिनबारे गफ गर्यो, दिन गएको पत्तो नै हुँदैन। तर कुनै बेला फुर्सदिला दिनहरु साह्रै रमाइला हुँदा हुन् भन्‍ने सोच्थेँ। वास्तवमा फुर्सदिला दिनहरु साँच्चै कस्टकर हुने रहेछन। यसको अनुभव अहिले गर्दैछु। 

पुरुषोत्तम न्यौपाने, गायक

मैले २०४५ सालको भुकम्प भोगेको थिएँ। त्यसबेला मान्छेहरु कति धेरै त्रसित थिए। त्यसपछि इबोला, स्वाइन फ्लू, डेङ्गु र २०७२ को भूकम्प पनि अनुभव गरियो। त्यसबेला हाम्रै पुस्ताले ब्यहोर्नुपर्ने कठिन क्षण यीनै हुन् भन्‍ने लाग्थ्यो। कोरोना मेरो जिन्दगीमा देखेको सबैभन्दा ठूलो भहावह स्थिति हो।  अहिलेको अवस्थामा घरमा बस्‍नु नै उत्तम विकल्प हो। यो विकल्पलाई नै आत्मसाथ गर्दै बसिरहेको छु।

केही दिनअघि कोरोनाबाट सुरक्षित रहन सचेतना गीत सार्वजनिक गरेको थिएँ। नागरिकलाई सचेत बनाउन सल्लाह,हौसला दिने साथी भाइसँग फेसबुकमा गफ गर्ने उपाय छ। छोराछोरी विदेशमा छन् । उनीहरुलाई ढाडस दिने काम गरिरहेको छु। रेडियो नेपालको क्षेत्रीय प्रसारण पोखरामा कार्यरत भए पनि हाल कार्यालय गएको छैन। तर उत्पादित सचेतनामुलक कार्यक्रम निरन्तर रेडियाबाट प्रशारण गरिरहेका छौँ। अहिले मान्छेहरुलाई सूचना र मनोरञ्‍जनात्मक कार्यक्रम आवश्यक रहेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.