सल्यान : सल्यानमा विदेशबाट आएका १५ जनालाई क्वारेनटाइनमा राखिएको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका १५ जना क्वारेनटाइनमा रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ।
राधेश्याम माध्यमिक विद्यालय काराँगिठीमा ११ जना र जनता माध्यमिक विद्यालय काभ्रामा चार जनालाई क्वारेनटाइनमा राखिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य प्रमुख प्रभातकुमार श्रेष्ठले जानकारी दिए। भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेनटाइनमा बसेको उनको भनाई छ। उनले भने विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरी संकलिन व्यक्ति क्वारेनटाइन बसिरहेका छन्।
शनिबार ८ जना र आज थप ५ जना क्वारेनटाइनमा बसी रहेको श्रेष्ठले बताए। उनीहरूमा अहिलेसम्म कोरोनाका कुनै लक्षण देखा नपरेको उनको भनाई छ ।
क्वारेनटाइनमा बसेका सम्पूर्ण व्यक्तिहरुको खानाबस्नको व्यवस्था गाउँपालिकाले गरेको छ।
२८४ होम क्वारेनटाइनमा
यस्तै सल्यानमा २८४ जना होम क्वारेनटाइनमा बसी रहेका छन्। कामको शिलशिलामा विभिन्न देशमा पुगी फर्किएका २८४ जना होम क्वारेनटाइनमा बसी रहेका हुन्। दार्मा गाउँपालिकामा २ सय ३ र बागचौर नगरपालिकामा ८१ जना होम क्वारेनटाइनमा बसी रहेका छन्।
दार्मा गाउँपालिकामा २ सय भारत र ३ जना अन्य देशबाट आएका व्यक्ति क्वारेनटाइनमा बसिरहेको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए। यस्तै बागचौर नगरपालिकामा ७३ जना भारत, मलेशियाबाट १, कतारबाट ३ र कुवेतबाट आएका ४ जना होम क्वारेनटाइनमा बसिरहेको नगरपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।