|

धादिङ : धादिङका विभिन्न स्थानमा रहेका इँटा उद्योगका कामदार खर्च अभावले भोकै पर्न थालेका छन्।  कोरोना भाइरसबाट बच्न सरकारले देशैभर लागू गरेको लकडाउनपछि जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भए पनि मजदुरहरु घर फर्कन सकेका छैनन्। उद्योग खुल्ने दिन अनिश्चित भएका कारण र खर्च अभावका उनीहरुको बिचल्ली भएको छ। 

कोरोनाको डर त्रासले आम मानिस घरभित्र छन् तर धादिङका अधिकांश इँटा उद्योगमा कार्यरत मजदुरहरु भने रोगको त्रास भन्दा पनि खानेकुराको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। ‘कोराना भाइरसले मरिन्छ भन्दा पनि भोको पेटले मर्ने चिन्ता भयो। काम गरेको दिनमा त साहुले चुलो बालिदिन्थे, काम नगरेको दिन भोकै बस्नुपरेको छ’, धार्केको जालपादेवी इँटा पथेरा काम गर्ने रोल्पाकी दिलमाया बुढाले बताइन्। 

काम गरेको बेला आफूहरुले उद्योगीहरुबाट हप्तामा रकम बुझ्ने अनि रासन किन्ने गरी गुजारा गर्दै आएको तर अहिले उद्योग बन्दपछि इँटा लिन कुनै गाडी नआएकाले काम नभएको र उद्योगीले पनि नगद नभएको भन्दै रकम दिन नसकेको रोल्पा माडी घर भई थाक्रेको एभरेस्ट इँटा उद्योगमा काम गर्दै आएका मजदुर पर्साराम परियारले बताए। 

रोल्पा घर भई  धादिङको जाल्पादेवी इँटा उद्योगमा कार्यरत गोपाल घर्तीमगरको पनि पीडा उस्तै छ। पर्साराम र गोपालजस्तै सयौं मजदुरको  अवस्था दयनीय रहेको स्थानीय सामाजिक कार्यकर्ता बिपना प्याकुरेल बताउँछिन्। लक डाउनपछि काम नहुँदा कमाई पनि नभएको र सुरक्षित बस्ने ठाउँसमेत नहुँदा आफूहरु थप जोखिममा रहेको मजदुरहरु बताउँछन्। 

जिल्लाको धुनिबेसि र नीलकण्ठ नगरपालिका, थांक्रे, गजुरी र सिद्धलेक गाउँपालिकामा गरी ४२ वटा इँटा उद्योग दर्ता भई सञ्चालनमा छन्। यी इँटा उद्योगहरुमा धादिङ जिल्लाका साथै रुकुम, रोल्पा, जाजरकोट, कालिकोट, दाङ, रौतहट, सर्लाही, सिन्धुलीलगायत जिल्ला र भारतबाट समेत गरी ६ हजारभन्दा बढी मजदुर कार्यरत छन्। 

कामदारहरुले सहज रुपमा आफ्नो गाउँसम्म जाने वातावरण बनाइदिन उद्योगी र सरकारसँग माग गरेका छन्। सञ्चारकर्मीहरुसँग दुखेसो पोख्दै उनीहरुले आफूले बोलेको सरकारले नसुन्ने भन्दै सञ्चारमाध्यमबाट आवज पुर्‍याइदिन अनुरोध गरेका छन्। यसैबीच धादिङ इँटा उद्योग व्यवसायी अध्यक्ष निराजन रेग्मीले कामदारहरुलाई आफ्नै घर फर्काउन स्थानीय प्रशासनसँग समन्वय भइरहेको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.