किटविज्ञ अभावमा कोरोना परीक्षण मेसिन प्रयोगविहीन

|

हेटौंडा :  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र महामारीको त्राससँगै मकवानपुरको विभिन्न क्षेत्रमा असर पर्न थालेको छ। जिल्लामा रहेका औद्योगिक क्षेत्र बन्द हुन थालेका छन्। विकट ग्रामीण क्षेत्रमा भोकमरी देखिन थालेको छ। तर मकवानपुरका स्थानीय तहहरूले विदेशबाट आउनेहरूको तथ्यांक संकलन गर्न छाडेका छैनन्। 

राक्सिराङमा भोकमरी 

मकवानपुरको राक्सिराङ गाउँपालिकामा भोकमरीको समस्या देखिन थालेको छ।  मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको यस गाउँपालिकामा अधिकांश सीमान्तकृत चेपाङ समुदाय छन्। गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार उब्जनीले ६ महिना पनि खान नपुग्ने चेपाङ समुदायका अधिकांश मानिस दैनिक ज्याला मजदुरी गर्छन्। देश नै लकडाउन भएपछि उनीहरु मारमा परेका छन् गाउँपालिकाले दुई छाक टार्न नसक्ने परिवारको तथ्यांक संकलन गरेर चामल बाँड्ने तयारी गरिरहेको उनले बताए।  

८० प्रतिशत उद्योग बन्द 

देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनको पत्यक्ष असर पुगेको छ। औद्योगिक क्षेत्रभित्रका उद्योग बन्द छन्। औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका प्रमुख राजेन्द्र कँडेलका अनुसार संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँग सम्बन्धित उद्योग मात्र सञ्चालन भइरहेको छ। दूध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरू सञ्चालनमा रहेका उनले बताए। उनका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योग पनि बिहानीसत्रमा मात्र चालु छन्। 

तथ्यांक संकलन गर्दै स्थानीय तह

मकवानपुर जिल्लाका स्थानीय तहहरूले विभिन्न देशबाट आएकाहरूको तथ्यांक संकलन गरिरहेका छन्। मकवानपुरका १० वटै स्थानीय तहले विदेशबाट फर्किएकाहरूको छुट्टाछुट्टै तथ्यांक संकलन गरी उनीहरूमाथि निगरानीसमेत बढाइरहेको जनाएका छन्।  जिल्लामा हालसम्म संकलन गरिएको तथ्यांकअनुसार २ सय ५३ जना विदेशबाट फर्किएको भेटिएका छन्। उनीहरूलाई उच्च निगरानीमा राखिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए। 

कोरोना परीक्षण मेसिन प्रयोगविहीन 

हेटौंडामा रहेको कोरोना भाइरस जाँच मेसिन प्रयोगविहीन छ। विज्ञ अभावमा कोरोनालगायत अन्य भाइरस अध्ययन गर्न र स्वरूप परिवर्तनबारे थाहा पाउन सक्ने मेसिन हेटौंडामा उपयोग हुन नसकेको हो। हेटौँडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरेर भाइरस, ब्याक्टेरिया, प्यारसाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरुप परिवर्तनबारे बुझ्ने गरिएको थियो।

तर किटविज्ञको अभावमा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन प्रयोगविहीन बनेको छ। पिसिआर मेसिन सञ्चालनको लागि भनेर पारासाइकोलोजिस्टको दरबन्दी कायम गरिए पनि दरबन्दी खाली रहेको केन्द्रका इन्टोमोलोजिस्ट (किट विज्ञ) शिशिर कुमार पन्तले बताए।

केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबाल यादवका अनुसार २०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुईजना प्राविधिक कर्मचारी कार्यरत छन्। ३ जना माइक्रोबायोजिस्टको दरबन्दी थप गर्ने हो भने कोरोना भाइरसको अध्ययन र परीक्षण हेटौंडाको यही ल्याबबाट हुन सक्ने उनले दाबी गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.