परिवारलाई क्वारेन्टाइनमा राख्‍ने तयारी

|

बुटवल : बुटवलको धागो कारखानामा बनाइएको आइसोलेटेड अस्पतालमा आइतबार बिहान ३७ वर्षीय व्यक्तिको मृत्यु भयो। चैत ६ गते दुबईबाट फर्किएका उनी ३ जनाको परिवारसँग सैनामैना नगरपालिका ४ सिसौडाँडामा भाडाको घरमा बसोबास गर्दै आएका थिए। 

घर फर्केको केही दिनपछि ज्वरो आउन थालेपछि उनलाई घर नजिकैको मेडिकलमा लगिएको थियो। औषधि खाँदासमेत निको नभएपछि वडाध्यक्ष धनबहादुर कार्कीसहित केही छिमेकीले उनलाई मुर्गियाको पर्रोहा स्वास्थ्यचौकी लगेका थिए। त्यतिन्जेलसम्म पनि उनी क्वारेन्टाइनमा बसेका थिएनन् भने काठमाडौंदेखि घरसम्म आउँदा माइक्रो बसमा यात्रा गरेका थिए। 

स्वास्थ्य चौकीले कोरोनाको संक्रमणको लक्षण बिरामीमा देखापरेको भन्दै बुटवलको कोरोना विशेष अस्थायी अस्पताल लैजान सुझायो। उनलाई चैत १३ गते बुटवल ल्याइयो। अस्पतालमा ल्याइएपछि उनमा देखिएका लक्षण थप बिग्रँदै गएको थियो। श्‍वासप्रश्वासमा समस्या बल्झिएपछि आज आइतबार बिहान सोही अस्पतालमा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरे। उनका अनुसार बिरामीलाई कुनै दीर्घ रोग थिएन। 

बिरामीको अवस्था बिग्रेपछि बिहानैदेखि उनलाई आइसियुमा राख्‍ने तयारीसमेत थालिएको थियो। यद्यपि अस्पतालमा भेन्टिलेटरको सुविधा छैन। 

कोरोनाकै लक्षण देखिँदासमेत परीक्षण भएन 

कोरोनाको लक्षणसहित अस्पताल आएका उनको तीन दिनसम्म पनि कोरोना परीक्षण गरिएको थिएन। बल्ल आज मात्रै बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको फोकल पर्सन डा. थापाले जानकारी दिए। उनको मृत्यु हुनुपूर्व नै स्वाब लिइएको डाक्टर थापाले बताए। स्वाब परीक्षणपछि आएको रिपोर्टबाट बिरामीको मृत्युको वास्तविक कारण खुल्ने छ।   

बिरामीको ‘ट्राभल हिस्ट्री’ र कोरोनासँग मिल्दो जुल्दो लक्षणहरू दुवै अस्पतालमा भर्ना हुनासाथ कोरोना परीक्षण हुनुपर्ने भएता पनि कोरोना परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने बाध्यता भएकाले ढिलाई हुन पुगेको अस्पतालको तर्क छ। 

यसो त प्रदेशका कोरोना परीक्षण उपकरण नहुँदा कोरोना संदिग्ध व्यक्तिहरूको समेत परीक्षण गर्न सकिएको छैन। प्रदेशमा १९० वटा क्वारेन्टाइन र त्यहाँ सयौंको संख्याका कोरोना संदिग्धहरू रहे पनि उनीहरूको कोरोना परीक्षण हुन पाएको छैन।

प्रदेश ५ का १२ वटा जिल्लाबाट हालसम्म २५ जनाको मात्रै कोरोना परीक्षण भएको छ। बाँकी २७ जनाको रिपोर्ट आउने क्रममा छ। भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउने प्रदेश सरकारले निर्णय गरेको थियो। तर, विशेषज्ञ प्राविधिक टोली र परीक्षणका उपकरणहरू नहुँदा त्यहाँ परीक्षण हुन सकेको छैन। 

परिवारलाई क्वारेन्टाइनमा राख्‍ने तयारी 

मृतककी श्रीमती र दुई छोरालाई सैनामैनास्थित प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राख्‍ने तयारी थालिएको वडाध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए। अस्पताल लैजानुपूर्व बिरामीसँग सम्पर्कमा आएका सबै व्यक्तिहरूको खोज्‍न थालिएको पनि उनले जानकारी दिए।

‘मृतकका परिवारलाई आजै क्वारेन्टाइनमा राखिन्छ। उनीसँग सम्पर्कमा आएका सबैजनाको पहिचान गर्ने काम सुरु गर्न लागेका छौं’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.