|

सुर्खेत : कर्णाली प्रदेशमा लकडाउनको अवधिमा विदेशबाट नौ हजारको हाराहारीमा सर्वसाधारण फिर्ता भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा विदेश गएका झण्डै नौ हजार नागरिक भित्रिएको जनाएको हो।

प्रदेशका १० वटै जिल्लामा कोराना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न र पूर्वतयारीको पछिल्लो अवस्था सार्वजनिक गर्दै मन्त्रालयले हालसम्म आठ हजार ६५० जना भित्रिएको जनाएको हो।

कर्णालीमा भित्रनेमध्ये सबैभन्दा बढी रोजगारीका लागि भारत गएका धेरै छन्। कतिपय तराईका जिल्लाबाट नै हिडेर गाँउ गाँउ सम्म पुगेकोले प्रदेशमा भित्रने संख्या अझै बढी हुन सक्ने मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री दल रावलले सबै जिल्लाबाट विदेशबाट आएकाहरुको रिर्पोट आउन बाँकी रहेको बताए।  ‘सबै जिल्लाबाट रिर्पोट आउन बाँकी नै रहेको छ’, उनले भने ‘हामीलाई प्राप्त रिपोर्टअनुसार नौ हजारको हाराहारीमा बिदेशबाट लकडाउन घोषणा पछि आएका छन्, अझै बढी नै आएका होलान्।’

मन्त्री रावलका अनुसार प्रदेशमा आकस्मिक अवस्थाको तयारीका लागि दुई हजार ५ सय २८ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ। प्रदेशमा तीन सय ३९ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। उनका अनुसार कर्णालीमा १७ वटा आइसियु तयारी अवस्थामा छन् भने ७ वटा मात्रै भेन्टिलेटर रहेका छन्।

स्थानीय तहमा दुईहजार २८ बेडको क्वारेन्टाईन र ३२ वटा आइसोलेसन बेड तयार गरिएको छ। प्रदेश तथा जिल्लामा पाँच सय क्वारेन्टाइन, तीनसय सात वटा आइसोलेसन बेड तयारी अवस्थामा छन्।

यसैबीच, कर्णालीबाट कोरोनाको आशंकामा परिक्षण गर्न पठाईएको १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।  सामाजिक बिकास मन्त्री रावलका अनुसार १७ जनाको स्वाब परिक्षण गर्न पठाईएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो। बाँकी ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

नक्कली पास बनाई गाडी चलाउने पक्राउ

यस्तै, लकडाउनको बेलामा सुर्खेतबाट नक्कली पास प्रयोग गरी नेपालगंज जान लागेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

खड्का कृष्ण एण्ड द क्याराभानले ना ८ ख २४३१को गाडीमा सुर्खेतदेखि चितवन कामदार लैजान लिएको (पास) अनुमती पत्रलाई डिजिटल प्रविधीको प्रयोग गरी अर्को एकजनाले दुरुपयोग गरेको पाइएको हो।

राज कुरेशी नाम गरेका ब्यक्तिले सुर्खेतदेखि नेपालगन्‍ज तर्फ नक्कली पास बनाई गाडी प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका कम्प्यूटर प्राविधक सुरज श्रेष्ठले जानकारी दिए।

‘हामीले पास दिँदा विवरणमा हातले लेखेका थियौं, तर दुरुपयोग गर्नेले डिजिटल प्रविधिको प्रयोग गरि सबै कम्प्यूटरबाट टाइप गरि नक्कली पास बनाएको पाईएको छ’, श्रेष्ठले भने ‘पासको फोटो खिची मोबाइलमा फोटो देखाउदै गर्दा सुर्खेतको स्थानीय नारायण पेट्रोल पम्प नजिकबाट प्रहरीले पक्राउ परेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.