|

दार्चुला : नेपाल र भारत दुबै देशमा लकडाउन गरिँदा सीमा क्षेत्रमा ५ सयभन्दा बढी नेपाली नागरिक अलपत्र परेका छन्।

बैतडी, बझाङ र जाजरकोटका नेपाली समेत दार्चुलाको सिमावर्ती क्षेत्रमा नेपाल प्रवेशका लागि आएको र नेपालतिर उनीहरूलाई व्यवस्थापन गर्ने कुनै तयारी नभएकाले उनीहरूलाई नेपाल भित्र्याउने कुनै योजना नभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

भारतको सिमावर्ती क्षेत्र दर, डिडिहाट र सोबलामा काम गर्ने ३ सय १३ जना आइतबार दिउँसोसम्म नेपालपारि धारचुलास्थित महाकाली नदी किनारमा जम्मा भई सकेका थिए भने झण्डै दुईसय जना धारचुलाको अन्य क्षेत्रबाट आइरहेको स्थानीय पत्रकार राकेश तिवारीले जानकारी दिएका छन्।

दार्चुलाको खलंगा र धारचुला जोड्ने पुल खोल्ने गरेको सूचना पाएपछि यो क्षेत्रमा अन्य क्षेत्रबाट समेत नेपाली ठूलो संख्यामा आइरहेकाले व्यवस्थापनमा चुनौती थपिएको प्रजिअ पौडेलले बताए।

यसअघि गत मंगालबार चैत्र ११ गते यो नाकाबाट ७८ जना र शुक्रबार चैत्र १४ गते २ सय २५ जनालाई उद्धार गरिएको थियो। त्यतिबेला दार्चुलाका विभिन्न क्षेत्रका नागरिक भएकाले स्थानीय सरकारलाई जिम्मा लगाउन सजिलो भएको तर अहिले जिल्ला बाहिरका नेपाली समेत आएका हुँदा व्यवस्थापन गर्न नसकिएको प्रजिअको भनाई छ।

‘अहिलेको मुख्य उद्देश्य संक्रमण रोक्नु हो। बिनाव्यवस्थापन नेपाल भित्र्याएर संक्रमण फैलाउने जोखिम लिन सकिन्न’ प्रजिअ पौडेलले भने।

नेपालीलाई ल्याउने बारे छलफल

भारतको धारचुलामा भारतको विभिन्न क्षेत्रबाट पुगेका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय छलफल गरिएको र छलफल सकारात्मक भएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले जानकारी दिए।

उपप्रधान तथा रक्षामन्त्रीसहित गृहमन्त्रालयका प्रतिनिधिहरूसित भएको छलफलले नेपालीलाई सिमापारि अलपत्र पर्न नदिने सम्बन्धमा सहमित भएको उनले बताए। उनीहरूलाई सम्बन्धित पालिकासम्म पुर्‍याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था भएपछि सीमापार रहेका नेपालीलाई नेपाल ल्याइने प्रक्रिया चालिने उनको भनाई छ।

दार्चुलाको सिमापारि रहेका नेपालीलाई नेपाल ल्याउने सम्बन्धमा स्थानीय तह, अन्य जिल्ला र केन्द्रका जनप्रतिनिधि र सरकारसँग समन्वय भई रहेको जिल्ला समन्वय समितिका प्रमुख करबीरबहादुर कार्कीले जानकारी दिए।

भारतमा रहेका नेपाली जुनजुन जिल्लाका छन् ती जिल्लाका प्रतिनिधिले जिम्मा लिने गरी व्यवस्थापन गर्ने कुरामा छलफल भइरहेको उनको भनाई छ। ‘दार्चुलाका भन्दा पनि बाहिरका बढी छन्। उनीहरूलाई सम्बन्धित जिल्लामा पठाउने व्यवस्था भएलगत्तै पारी रहेकालाई नेपाल भित्र्याइने छ’ जिसस प्रमुख कार्कीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.