|

बाँके : लकडाउनका कारण काम गर्न नपाएर भोकभोकै भएका मजदुरलाई नेपालगन्ज उपमहानगरपालिकाले राहत दिने भएको छ। ज्याला मजदुरी गरेर दैनिकी चलाउने विपन्न परिवारलाई उपमहानगरले राहत सामग्री प्रदान गर्ने कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए। 

आइतबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले दैनिक ज्यालादारीमा काम गरि जीविकोपार्जन गर्ने ब्यक्तिको तथ्यांक संकलन गरि तत्काल खाद्यान्न प्रदान गरिने उनले बताए। विपन्न परिवारको पहिचान गरी चामल, पिठो, दाल, नुन, आलु, तेल र साबुन उपलब्ध गराउने उपमहानगरका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए।

‘लकडाउनका कारण काम गर्न नपाएर समस्यामा परेका व्यक्तिलाई राहत उपलब्ध गराउने निर्णय कार्यपालिकाले गरेको छ,’ रिजालले भने। प्रत्येक वडामा खाद्यन्न पसल संचालन तथा ठेलागाडामा तरकारी बिक्री, वितरणको व्यवस्थाका लागि वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

बैठकले भारतबाट आएका व्यक्तिलाई सम्भव भएसम्म क्वारेन्टाइनमा राख्ने र नभए घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको रिजालले बताए। 
वडास्तरमा क्वारेन्टाइन स्थापनाका लागि स्थान पहिचान गर्ने निर्णय गरिएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण भित्रिन नदिन उच्च सावधानी अपनाने निर्णय गर्दै बैठकले नगर क्षेत्रमा दुईवटा टास्कफोर्स गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

‘बैठकले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ,’ उनले भने। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.