|

कञ्चनपुर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का वडा अध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य संकटमा परेका विपन्न अवस्थाका २६ परिवारलाई राहतस्वरुप चामल वितरण गरे। 

नगरपालिका १० खल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउदै आएका परिवारलाई वडा अध्यक्ष ऐरले प्रति परिवार १० किलोका दरले चामल वितरण गरेको हो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए।

अध्यक्ष ऐरले भने, ‘आर्थिक अभावले दुई दिनदेखि खाद्यान्नको अभावमा खान नपाएको ती परिवारले गुनासो गरेपछि आफ्नै खर्चमा स्वर्गीय पिताको स्मृति दिवसका दिन चामल वितरण गरेका छौं।’ विपन्न परिवारको घर दैलोमै चामल पुर्‍याई वितरण गरिएको उनले बताए।

दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकोमा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोक भोकै बस्नु परेको फगुनिया खुनाले बताइन्। 'मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चारदिन अघि नै सकियो। छिमेकीको सहयोगमा केही दिन खाना खान पायौं। छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडा अध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ' उनले भनिन्।

'बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ। मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन्' सुरज जैरुले भने, दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौं। बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोवास रहेको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.