सन्दर्भ - विश्व क्यान्सर दिवस

|

काठमाडौं :  दोलखाका ५५ बर्षीय भीमनाथ योगीले ५० वर्षकै उमेरदेखि प्रेसरको औषधी खाँदै आएका थिए। दुई बर्ष अगाडि एक्कासी लगातार झाडापखला लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने र पेट दुखिरहने भयो। लामो समयसम्म ठीक नभएपछि उपचार गर्न जिल्ला अस्पताल पुगे। जचाउँदा थाहा भयो उनलाई पेटको क्यान्सर भएको रहेछ।

खेती किसानीबाट एक छोरा एक छोरी सहितको परिवार पालिरहेका योगीको त्यसपछिका दिन दिनहुँ औषधी खाएरै बितेको छ। डाक्टरको सल्लाहमा उनी दुई बर्षदेखि वीर अस्पतालमा क्यान्सर उपचार गराइरहेका छन्। उनको क्यान्सर दोश्रो स्टेजमा रहेकाले उपचारपछि निको हुने डाक्टरहरुले बताएका छन्। दुई बर्ष अगाडि पहिलो साइकलको ६ पटक किमो चढाएका योगी दोस्रो चरणको किमो चढाउन काठमाडौं आएका छन्। 

क्यान्सरको उपचारका लागि उनले ३ रोपनी पाखोबारी र ४ रोपनी खेत बेचिसकेका छन्। 'खेती किसान गरेर गुजारा चलिरहेकै थियो, एक्कासी क्यान्सर देखियो, उपचार गर्नै पर्‍यो, भएको ३ रोपनी पाखो र ४ रोपनी खेत बेचिसकेँ, अझै उपचार गर्दैछु' उनले भने

योगी जस्ता ५० देखि ६० जनाले क्यान्सरका विरामी वीर अस्पतालको क्लिनिकल अल्कोलोजी विभागमा उपचार गराइरहेका छन्। उनीहरुले समयमा क्यान्सर चिन्न नसक्दा धेरै रकम खर्च गर्दा पनि निको हुने हो कि नहुने भन्ने चिन्तामा छन्। विभागका प्रमुख डा. विवेक आचार्य दिनमा ३ देखि पाँच जना क्यान्सरका बिरामी थपिने बताउँछन्।

नेपालमा क्यान्सरका विरामी

नेपालमा क्यान्सरका विरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन। तर नेपाल क्यान्सर रिलिफ सोसाइटीले सन् २०१६ मा गरेको अध्ययन अनुसार नेपालमा वर्षेनी ३० हजार जना क्यान्सरका विरामी थपिन्छन्। हरेक बर्ष २० हजार जनाले क्यान्सरकै कारणले ज्यान गुमाउँछन्।  नेपालमा फोक्सो, पाठेघर र स्तन क्यान्सरका बिरामी बढी रहेको सोसाइटीका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ 'ईश्वर'ले जानकारी दिए।  

नेपालमा क्यान्सरबाट ज्यान गुमाउनेमा सयमा ५५ जना महिला र ४५ जना पुरुष रहेका छन्। महिलाहरुमा पाठेघरको मुख, स्तन क्यान्सर बढी मात्रामा देखिएको छ भने पुरुषहरुमा फोक्सो र मुखको क्यान्सर बढी देखिएको पनि उनले बताए। बालबालिकाहरुमा भने रक्त क्यान्सर बढी देखिएको छ।  

समयमै पहिचान गर्न सकेमा ६० प्रतिशत क्यान्सर निको हुने वीर अस्पतालका क्लिनिकल अल्कोलोजी बिभागका डा. आचार्य बताउँछन्। 'प्रारम्भिक अवस्थामै क्यान्सरको पहिचान भएर प्रभावकारी उपचार हुने हो भने विरामीहरुलाई मृत्युको जोखिमबाट बचाउन सकिन्छ' उनले भने  '६० प्रतिशतभन्दा बढी क्यान्सरले तेस्रो चरण पार गरेरपछि उपचारका लागि अस्पताल आउँछन्।' उनका अनुसार तेश्रो चरण पार गरेपछि सन्चो हुन गाह्रो हुन्छ। ४० प्रतिशत क्यान्सर निको नहुने भएकाले बेलैमा सचेत हुनुपर्छ। तर ६० प्रतिशत क्यान्सर समयमानै उपचार गरियो भने निको हुन्छ।

कसरी हुन्छ क्यान्सर? 

क्यान्सर लाग्ने मुख्य कारण धुमपान तथा सुर्तीजन्य प्रदार्थको सेवन मानिन्छ। सुर्तीजन्य वस्तुहरुको प्रयोगले मुख, नाक, गला, घाँटी र फोक्सो क्यान्सरको जोखिम बढी हुन्छ। शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म सन्चो भएन भने त्यसले पनि पछि क्यान्सरको रुप लिन सक्छ। अनियमित जीवनशैली, रक्सीको अध्याधिक सेवन र वंशानुगत कारणले पनि क्यान्सर रोग लाग्छ। पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्यकारण वातावरण प्रदूषण समेत रहेको डा. आचार्य बताउँछन्।

यसबाहेक बाहिर कुनै कारण नदेखिएपनि मानिसलाई क्यान्सर हुन सक्ने उनी बताउँछन्। तथापी, सुर्तीजन्य पदार्थको सेवन, फलफूल, तरकारी लगायतका खाद्यानमा अत्याधिक मात्रामा विषदीको प्रयोग, धुलोधुवा प्रदुषण, असन्तुलित आहार, बद्लिदो जीवनशैली, जनचेतनाका कमी लगायतका कारण नेपालमा क्यान्सरको जोखिम बढ्दो छ। 

लक्षण

शरिरमा कुन अंगको क्यान्सर छ त्यही अनुसारका लक्षणहरु देखिन्छन्। टाउकोमा क्यान्सर छ भने टाउको दुख्ने, वान्ता हुने हुन्छ। पेटमा क्यान्सर छ भने खान मन नलाग्ने, वाकवाक लाग्ने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ। त्यसैले यो क्यान्सरको लक्षण यही नै हो भन्न नसकिने डा. आचार्य बताउँछन्। यद्यपी सबैथरी क्यान्सका केही साझा लक्षण भने हुन्छन्। 

शरीरमा देखिएका घाउ खटिरा साधारण उपचारबाट निको नहुनु, नदुख्ने गिर्खाहरु देखिनु, गिर्खाहरु बढ्दै जानु, शरीरका बिभिन्न भागबाट रक्तश्राव, पपी आउनु, खाना निल्न अप्ठेरो हुनु, कव्जियत हुनु र पिसाब फेर्नमा कठिनाई हुनु क्यान्सरका साझा लक्षण हुन्। त्यस्तै तौल घट्दै जानु, कोठीको आकार परिवर्तन हुनु, महिलाहरुमा स्तनको वरपर गिर्खा देखापर्नु क्यान्सरका लक्षणहरु हुन्।

खोक्दा कफमा रगत देखिनु, रगत बान्ता हुनु, दिसामा कालो रगत देखिनु, पिसाबमा रगत देखिनु, पुरुषको लिंगमा घाउ देखिनु र घाउ बढ्दै गएमा त्यस्ता खराबीहरुले बिभिन्न किसिमका क्यान्सर हुने सम्भावना अत्यधिक हुने गर्छ। उमेर पुगेका व्यक्तिहरुलाई खान मन नलागेमा, अपच भएमा, आखा पहेंलो भएमा पनि क्यान्सरको शंका गरेर उपचार गराउन गइहाल्नुपर्ने डा. आचार्यको भनाइ छ। 

उपचार विधि

क्यान्सरको शंका लागेमा शंका लागेको अंगको बायोस्पी, सिटी स्क्यान,  हिस्ट्रो प्याथोलोजी रिपोर्ट लिनुपर्छ। क्यान्सर हो भन्ने पत्ता लागेपछि किमो, रेडियो थेरापी मार्फत लामो समयसम्म उपचार गरिन्छ। यदि शरीरको कुनै भागमा क्यान्सर लागेको छ भने त्यसलाई सर्जरी गरेर फाली अन्य अंगमा सर्नबाट बचाइन्छ। रक्त क्यान्सर बाहेक अरु सबै क्यान्सरको उपचारको लागि सर्जरीसँगै आवश्यकता अनुसार किमो र रेडियोथेरापी  गर्नुपर्छ। 

क्यान्सरबाट बच्ने उपाय

धुमपान, खैनी, सुर्ती, पानपराग खाने बानी छ भने क्यान्सरको जोखिम उच्च हुन्छ। त्यसैले  क्यान्सरको लक्षण देखिनासाथ चिकित्सककोमा जचाउन जानुपर्छ। महिलाहरुले समय समयमा पाठेघरको जाँच गराउनुपर्छ भने स्तनमा गाँठागुठी आएमा जचाउँनुपर्छ। 

हरेक व्यक्तिले प्रत्येक दिन आधाघण्टा शारीरिक व्यायाम गर्नाले मांसपेशीलाई मजबुत तुल्याई पाचन क्रियामा ठूलो मद्दत पुग्ने गर्छ,यसले पनि क्यान्सर रोग लाग्नबाट केही हदसम्म सहयोग गर्छ। 

ग्रामीण क्षेत्रको तुलनामा शहरमा क्यान्सर रोगीको संख्या बढ्दै गएको छ। पोलेको, तारेको, डढेको  खानेकुराका कारण पनि क्यान्सर रोग लाग्ने डा. आचार्य बताउँछन्। अत्यधिक घाममा बस्ने धुलो धुवा, प्रदुषणका कारण पनि क्यान्सर रोग देखापर्छ। क्यान्सर रोग निवारण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि १८ सम्म ‘हामी सक्छौं, म सक्छु’ भन्ने नारा सहित विश्वभर क्यान्सर दिवस आज संसार भर मनाइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.