पश्‍चिम बंगालमा कोरोनाबाट दुईजनाले ज्यान गुमाए

|
कालेबुङको डम्बर चोकमा सडकमा निस्किएकालाई नमस्ते गर्दै प्रहरी। तस्बिर : केटिभी कालिङपोङ

काठमाडौं : नेपालसँगै सिमाना जोडिएको भारतको दार्जिलिङ पहाडमा पनि कोरोना भाइरसले सोमबार एकजना महिलाको ज्यान लिएको छ। योसँगै पश्‍चिम बंगाल राज्यमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। 

कोरोनाबाट ज्यान गुमाउनेमा दार्जिलिङको कालेबुङकी ५४ वर्षीया सरितादेवी सिंह रहेको उनका आफन्त अजय सिंहले दिएका छन्। अजयले आइतवार राति २ बजे सरितादेवीको निधनसँगै आफ्नो परिवारका सबै सदस्यलाई क्‍वारेन्टाइनमा पठाइएको जानकारी दिएका छन्। 

समाचार अनुसार उनी छोरीको उपचारका लागि चेन्‍नईमा बसेर हालै मात्र घर फर्किएकी थिइन्। घर फिरेपछि बिरामी भएकी उनको स्वास्थ्य परीक्षणमा कोरोना पाइएको थियो। बिरामी भएपछि उनलाई नर्थ बंगाल मेडिकल कलेजको आइसोलेशनमा वार्डमा भर्ना गरिएको थियो। 

यसअघि पश्‍चिम बंगालमै कोरोनाबाट एकजना पुरुषको ज्यान लिएको थियो। गत २३ मार्चमा कोरोनाबाट ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो। योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि १२ सय नजिक पुगेको छ। 

दार्जिलिङका दुई जना संक्रमित र कालेबुङका तीन जना मध्ये मर्ने महिला कालिङम्पाेङ मेनराेडका सुन पसलकी भएको बताइएको छ । उनका श्रीमान र छोरीलाई क्वारन्टाइनमा राखिएको छ। 

स्थानीय नर्सिङहाेममा ज्वराे जाँचेर औषधि दिने चिकित्सक र त्यहाँ गएका विरामी के कति थिए , कतिले पसलबाट सुन किने वा कारोबार गरे लेखा जाेखा हुन सकेकाे छैन । संक्रमणको डरले वरपर भने आतंक छाएको प्राप्त समाचारमा जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.