|

बारा : काठमाडौंबाट आइतबार साँझ एक समूह निजगढ फर्किएको छ। सरकारले घोषणा गरेको लकडाउनका कारण समस्या परेका उनीहरुलाई काठमाडौंबाट उद्धार गरिएको थियो। 

काठमाडौंबाट गृहजिल्ला फर्कन पाउँदा जति खुसी थिए, उतिकै हतारो पनि। तर, शहीदचोकमा आएपछि सहिद हीरालालमार्गबाट उत्तरतर्फ लाग्नुपर्ने सुमो पूर्वतिरै हानियो। पूर्वपश्चिम राजमार्गको एकाध किलोमिटर अघिबढेपछि सुमो दक्षिणतर्फ लगियो। 

घर झर्नुपर्ने यात्रुलाई निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइयो। सुमो रोकिनासाथ मास्क लाएका यात्रु फटाफट ओर्लिन थाले। त्यतिकैमा एक जना स्वास्थ्यकर्मी रिसाउँदै आएर भनिन्, 'तपाईहरु यसरी एक पटक बाहिर ननिस्कनुस्, पालैपालो चेकजाँच हुन्छ। हत्तारमा रहेका यात्रु अलमलमा परे।

निजगढ नगरपालिकाले यहाँ हेल्थ डेस्क स्थापना गरेको छ। नगरको सहिद चोक र बुद्धचोकमा स्थापना गरिएको हेल्थ डेस्क लकडाउनका कारण स्वास्थ्य केन्द्रमा सारिएको छ। यात्रु परीक्षणका लागि आउने थाहा पाएका केन्द्रका स्वास्थ्यकर्मी तयारी गर्दै थिए। टेबल, कुसीसँगै स्वास्थ्यकर्मीको पोशाक लगाएकी महिला कलम र डायरी बोकेर आइन्। 

हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी सुजता खनाल नचिनिने गरि बाहिर निस्किइन्। टाढैबाट उनीहरुको तापक्रम मापन गर्न उनी पूरै शरीर ढाकेर उभिइरहेकी थिइन्। 

तर उनले लगाएको पिपिईमा भने धेरैको नजर पुग्यो। उनले लगाएको पिपिई स्थानीय किसानले केराबारीमा विष छर्किन प्रयोग गरिनेजस्ता प्लाष्टिकका थिए।केन्द्रका प्रमुख डा दीपेन्द्र प्रसाद यादवले उक्त पिपिई आफूहरुले तयार पारेको सुनाए। परीक्षण गर्ने गन पनि केन्द्रले जुगाड गरेको हो।

‘नगरपालिकाले आज भोलिमा आउँछ भनेको छ,’ डा यादवले भने, ‘अहिलेसम्म यस्तै अवस्थामा सेवा सञ्चालन गरिरहेका छौं।’ यात्रुलाई पालैपाले सेनेटाइजरबाट मिचिमिची हात धुन लगाइयो। हात धोएपछि उनीहरुको पूरै परिचय र सम्पर्क गर्न अभिलेख गरिएको छ। 

पालैपालो तापक्रम नाप्ने र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण रहे नरहेको स्वास्थ्यकर्मीले जानकारीसमेत लिए। परीक्षण गरिएका सबै यात्रुमा तापक्रम सामान्य देखिएको र स्वदेशबाटै आएकाले उनीहरुलाई घर फर्काइयो।  स्वास्थ्यकर्मीले घरबाहिरबाट आएकाले परिवारसमेत सकेसम्म छुट्टाछुट्टै बस्न र होम कोरनटाइनको नियम पालना गर्न सल्लाह दिए। 

लकडाउनअघि राजमार्गको चोकमा र त्यसपछि स्वास्थ्य केन्द्रमा राखिएको डेस्कमार्फत दुई हजार जनाको तापक्रम परीक्षण गरिएको डा यादवले जानकारी दिए।विभिन्न माध्यमबाट गाउँ फर्किने क्रम अझै चलिरहेकै छ। विचल्लीमा परेका मजदुरलाई सरकारले नै घर फर्काउन सहयोग गरेको छ।

गाउँ फर्किंदा स्थानीय प्रशासन र स्वास्थ्यकर्मीसँग समन्वय नभएको पाइएको छ। संक्रमण बोकेर घर फर्किएकाहरुबाट गाउँमा संक्रमण फैलिन नदिन अनिवार्य परीक्षण गर्न आवश्यक रहेको स्थानीय अभियन्ता रवीराज दंगाल बताउँछन्। गाउँ फर्किंदा अनिवार्य रुपमा परीक्षणको व्यवस्था मिलाउन उनले अनुरोधसमेत गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.