|

भद्रपुर : कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेसँगै यसपाली चैती छठ पर्व झापावासीले घर-घरमै मनाएका छन्।

झापाका प्रहरी प्रशासनले लकडाउनमा सार्वजनिकस्थलका नदी तथा खोलामा चैती छठ पर्व मनाउन नपाउने आग्रह गरेपछि व्रतालु परिवारजनले आ-आफ्नो घर तथा आँगनमा खाल्डो खनेर चैती छठ पर्व मनाएका हुन्।  

यता भद्रपुरका मधेसी समुदायले वडा प्रहरी कार्यालय भद्रपुरको आग्रह बमोजिम मेची नदी किनारमा नपुगेर आआफ्नै घरमै चैती छठ पर्व मनाएका छन्। सोमबार नदी तथा खोलाको पवित्र जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि उनीहरूले घरघरबाटै पूरा गरेको स्थानीय युवा भिमासिंह राजपुतले जानकारी दिए। अरू बेला व्रतालु तथा उनका परिवार मेची नदी किनारमै पुगेर चैती छठ मनाउँदै आइरहेका थिए।

पर्वको मुख्य दिन आज निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिएको छ। वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने चैती छठको विधि भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न हुनेछ।

यता वडाका प्रहरी निरीक्षक डम्बर पुरीका अनुसार लकडाउनमा चैती छठ मेची नदीमा मनाउने नदिएको बताए। ‘यहाँका धेरै व्रतालु परिवारजनका सदस्यले फोन गरेर चैती छठ नदी पुगेर मनाउन पाइन्छ कि पाइँदैन भनेर जिज्ञासा राखेका थिए,’ उनले भने, ‘तर हामीले ती परिवारलाई घरमै मनाउन सुझाव दिएको र सोही बमोजिम उहाँहरू घरमै मनाएको हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.