भ्रमण वर्ष सचिवालय वैशाखबाट खारेज हुने

|

काठमाडौं : सरकारले करोडौं खर्च गरेर सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० अन्तत: औपचारिक रुपमै स्थगित भएको छ। अघिल्लो मन्त्रिपरिषद् बैठकले भ्रमण वर्षका सबै कार्यक्रम औपचारिकरुपमै स्थगित गर्ने निर्णय लिएको हो।

गत डिसेम्बरदेखि चीनक हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस विश्‍वका २०५ मुलुक पुगिसकेको अवस्थामा सरकारले औपचारिकरुपमै भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गर्ने निर्णय लिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका एक सहयोगीका अनुसार सरकारको निर्णयसँगै २०७७ वैशाखदेखि भ्रमण वर्ष सचिवालय पनि खारेज हुने भएको छ।

भ्रमण वर्ष सचिवालयको नेतृत्व उद्योगी सुरज वैद्यले गर्दै आएका छन्। सरकारले गत फागुन १८ मै भ्रमण वर्षका औपचारिक कार्यक्रम रोक्ने निर्णय लिएको थियो। 

मन्त्रिपरिषद्को यसअघि बसेको बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी भ्रमण वर्ष सचिवालयको कार्यालय विघटन गर्ने निर्णय गरेको हो। यस कुराको जानकारी पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले दिएका छन्। 

कोरोना भाइरसले विश्‍वभर महामारीको रुप लिएसँगै नेपालले वैशाख ३ सम्मलाई विदेशका सबै उडान बन्द गरिसकेको छ। त्यसैगरी भारत र चीनतर्फका सीमा पनि बन्द गरिएका छन्। नेपलामा रहेका विदेशी पर्यटकलाई पनि अहिले सम्बन्धित देशले जहाज चार्टर्ड गरेर फिर्ता लगिरहेका छन्। मंगलबार मात्रै अमेरिकाले कतार एयरवेजको जहाजबाट आफ्ना नागरिक फिर्ता लगेको छ। यसअघि जर्मीसहितका युरोपेली मुलुकले आफ्ना ३०० नागरिक फिर्ता लगिसकेका छन्। 

तर यसबीचमा कोरोना भाइरसले चीनमा महामारीको रुप लिइरहेका बेला पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल कोरोना मुक्त देश भन्दै प्रचारका कार्यक्रम नै ल्याएका थिए। उनले चीनसहितका देशमा प्रचार गरेर पर्यटक भित्र्याउने बताएका थिए। तर चीनबाट युरोपेली देशमा कोरोनाले महामारीको रुप लिएसँगै मन्त्री भट्टराई आफ्नो निर्णयबाट पछि हटेका थिए। 

गत फागुन ६ गतेको बैठकमा यस्तो निर्णय भएपछि मन्त्री भट्टराईसहित सरकार पनि आलोचित बनेको थियो। कोरोनाले युरोपेली देशलाई नराम्ररी गाँज्दै गएपछि सरकारले भ्रमण वर्ष अघि नबढाउने निचोड लिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.