स्वास्थ्यकर्मीलाई शत प्रतिशत भत्ता

|

स्याङ्जा : स्याङजाको फेदीखोला गाउँपालिकाले सेनिटाइजर अभाव हुन थालेपछि उत्पादन सुरु गरेको छ। यसैगरी स्वास्थ्यकर्मीको मनोबल बढाउने उद्देश्यले स्वास्थ्यकर्मीलाई प्रोत्सहान भत्तासमेत प्रदान गर्ने भएको छ। 

उत्पादित सेनिटाइजर जिल्लामा सञ्चालनमा रहेका हेल्थ डेस्क, क्‍वारेन्टाइन, स्वास्थ्य चौकीलगायत संवेदनशील क्षेत्रमा प्रयोग गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए। पालिकाबासीलाइ सचेत रहन आग्रह गर्दै उनले भने, ‘ अहिलेसम्म बिदेशबाट आउनेहरुमा नै संक्रमण देखिएकोले पालिका प्रवेश गर्नेहरुको खोजी कार्य पनि गरका छौँ।’ कोही विदेशबाट आएको खबर पाउनसाथ उनीहरुको घरमा नै जाने, परामर्श गर्ने र १४ दिन सुरक्षित तवरले होम क्‍वारेन्टाइनमा बस्ने वातावरण मिलाइएको सुवेदीले बताए। 

केही दिनअघि असिनाले कृषि उत्पादनमा ठूलो क्षति पुर्‍याएको बताउँदै सुवेदीले फेदीखोलाका कृषकलाई कारोनाबाट बच्न र उत्पादन बढाउन करेसाबारी वा कृषि कर्ममा लाग्न सुझाव दिएका छन्। फेदीखोला १ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको विज्ञान प्रयोगशालामा स्थानीय सबिना गौतम र स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा सेनिटाइजर उत्पादन गरिएको हो।

आवश्यक प्रयोगशालाको रासायनिक पदार्थ पोखरा र काठमाडौंबाट ल्याइएको हो। आवश्यकता बढी र बजारमा अभाव भएपछि गाउँपालिकाभित्रै उत्पादन गर्न थालिएको सबिना गौतम बताउँछिन्।  गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार स्वास्थय चौकीमा काम गर्नेलाई ५०, हेल्थ डेस्कमा काम गर्नेलाई ७५ र क्‍वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई शत प्रतिशत भत्ता दिइने छ। यस पालिकाभित्र ७ क्‍वारेन्टाइनमा १२ जनालाई राखिएको छ भने होम क्‍वारेन्टाइनमा २७ जनालाई राखिएको छ। कसैलाई आपत आइपरे हेलिकप्टरबाट उद्धार गर्न जनशक्ति र हेलिप्याडसमेत निर्माण गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.