थाहा नगरपालिकाले पनि थाल्यो सेनिटाइजर उत्पादन

|

हेटौंडा : रोजगारीको सिलसिलामा विभिन्न देशबाट चैत १ गतेभन्दा पछि फर्किएका मकवानपुर जिल्लाका ३ सय २७ जनामध्ये ३ सय २२ जना होम क्‍वारेन्टाइनमा बसेका छन्। स्थानीय तहहरुले मंगलबारसम्म संकलन गरेको लगतअनुसार मकवानपुरका २ जना हेटौंडा एकेडेमीस्थित क्‍वारेन्टाइनमा र ३ जना श्रमिक माविस्थित आइसोलेसन कक्षमा रहेका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा राखिएको विवरणअनुसार चैत १ गतेपछि विदेशबाट आएकामध्ये हेटौंडा उपमहानगरपालिकामा १ सय ३० जना, थाहा नगरपालिकामा ६८ जना, मनहरि गाउँपालिकामा ६६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १२÷१२ जना, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५÷५ जना तथा राक्सिराङ गाउँपालिकामा १ जना होम क्‍वारेन्टाइनमा छन्। 

यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हरेक स्थानीय तहले विदेशबाट आएका व्यक्तिका साथै आफ्नो वडाको नागरिकको रोजगारी र अहिलेको समयमा गुजारा गर्न नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय गरेको छ। प्रशासनले हरेक सामान बिक्री वितरण गर्दा १ मिटरको दूरी कायम गर्ने गरेको छ। आपूर्ति व्यवस्थापनलाई सहज बनाउन वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधिसहित समिति गठन गर्ने पनि निर्णय गरिएको छ। 

त्यस्तै वडास्तरीय समितिले आफ्नो वडाको रोजागारीको स्थिति र हालको अवस्थामा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने र त्यस्ता व्यक्तिहरुलाई वडास्तरीय समितिले प्याकेजको सुविधा उपलब्ध गराउने छ। कुनै संघसंस्थाहरुले सहयोग गर्न चाहेको स्थानीय तहसँग समन्वय गर्नुपर्ने, सहायताको नाममा कसैले चन्दा उठाउन नपाउने, वितरणमा दोहोरोपना हुन नदिने, जिल्ला समन्वय समितिले स्थानीय वडा कार्यालय अन्य जिल्लाका कार्यालयहरुसँग आवश्यक समन्वय गर्ने भनिएको छ। 

कोरोना शंकास्पद व्यक्तिहरुलाई अस्पतालबाट क्‍वारेन्टाइन अथवा आइसोलेसन पठाउन एम्बुलेन्ससँगै आवश्यक परे सरकारी गाडी प्रयोग गर्ने, अस्पताललगायत आइसोलेसन वार्ड स्थापना गरेको छ। हेटौंडा उपमहानगरका सबै स्थानमा डिस–इन्फेक्सन छर्ने कार्य जिल्ला स्वास्थ्य कार्यालयले हेटौंडा उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र अस्पतालसँग समन्वय गर्ने निर्णय गरेको छ।

थाहा नगरमा सेनिटाइजर उत्पादन 

मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले सेनिटाइजर उत्पादन तथा वितरण सुरु गरेको छ। सहकारीले ७ जनालाई काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनको सहयोगमा नार्कमा १ दिने तालिममा पठाएर आफैंले उत्पादन थालेको सहकारीका कोषाध्यक्ष सानुकाजी गोपालीले जानकारी दिए। 

सहकारीले २ हजार लिटर उत्पादन गरेको सचिव गोपालीले बताए। सेनिटाइजर उपलब्धताको सहजताका लागि विभिन्न क्षेत्रमा आफ्नो उत्पादन पठाइएको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले जनाए।

खानेपानी महसुलमा छुट 

हेटौंडामा खानेपानीको महसुलमा २५ प्रतिशत छुट हुने भएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। 
बोर्डका अनुसार चैत महिनाको न्यूनतम पानी महसुलमा २५ प्रतिशत छुट दिने जनाएको छ। बोर्डको न्यूनतम पानी महसुल ८५ रुपैयाँ रहेको छ। फागुन र चैत महिनाको पानी महसुल २०७७ वैशाख मसान्तसम्म भुक्तानी गर्दा जरिवाना नलाग्ने बोर्डले जनाएको छ।  

इ–सेवा, इनेट पेमेन्ट र आइएमई पेमार्फत महसुल भुक्तानीको व्यवस्था मिलाएको बोर्डले जनाएको छ। बोर्डको सेवा क्षेत्रभित्र १७ हजार ८ सय धारा रहेको जनाइएको छ। कोरोना भाइरस संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनलाई लक्षित गरेर यस्तो बोर्डले यस्तो निर्णय लिएको जनाइएको छ। 

बोर्डले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उपचार तथा भलाइ कोषमा हेटौंडा खानेपानी बोर्ड र कर्मचारीले तीन लाख रुपैयाँ सहयोग गरेको छ। मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकम हस्तान्तरण गरिएको छ।

उपमहानगरको विपद् कोष

उपमहानगरले कोरोना भाइरसविरुद्धको अभियानका लागि विपद् व्यवस्थापन कोषमा भएको रकम खर्च गर्ने भएको छ। उपमहानले छुट्टै कोष नबनाई विपद् जोखिम कोषबाटै काम गर्ने भएको हो। यस्तै उपमहानगरले सार्वजनिक रुपमा सहयोगको याचना नगर्ने र विपद् जोखिम न्यूनीकरण कोषबाट अपुग भए उपमहानगरकै बजेटबाट आवश्यक खर्च गर्ने बताएको छ।

उपमहानगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ अन्तर्गत गठन गरेको विपद् व्यवस्थापन कोषमा ७५ लाख रुपैयाँ बजेट रहेको उपमहानगरका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिएका छन्। 

चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। चालु आर्थिक वर्षका लागि विपद् व्यवस्थापन कोषमा विनियोजन गरिएको बजेट अपुग भए उपमहानगरकै कोषबाट आवश्यक खर्च गरिने मेयर हरिबहादुर महतले जानकारी दिए। कोरोनाविरुद्ध आवश्यक कार्य गर्न प्रदेश सरकारले दिने भनिएको १५ लाख रुपैयाँ पनि उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषमै राखेर आवश्यक कार्य गरिने मेयर महतले स्पष्ट पारे 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.