महाकालीमा पौडिएर आएका युवा क्‍वारेन्टाइनमा

|

दार्चुला : आफ्नो ज्यान कसलाई प्यारो हुँदैन र? भारतको पिथौरागढस्थित पञ्‍चाचुली हिमाली क्षेत्रमा सडक खन्दै गर्दा बैतडीका लोकेन्द्र बोहरालाई पनि आफ्नो ज्यान असाध्यै प्यारो लाग्थ्यो। 

मंसिर मध्यतिर गाउँका १५ जनासँगै सडक खन्‍न पञ्‍चाचुली पुग्दा लोकेन्द्रले सोचेका पनि थिएनन्‌, 'देश फर्कन ज्यानको बाजी लगाएर महाकालीमा हामफाल्नु पर्नेछ! तर यस्तै भयो।

फागुन अन्त्यतिर कोरोना भाइरस संक्रमण फैलिएको हल्ला चल्यो। अब के हुने हो भन्‍ने आशंका त त्यतिखेरै लागेको थियो। तर यो हदसम्मको ठक्कर र हण्डर खानुपर्ला भन्‍ने चाहिँ उनीलगायत मजदुर साथीहरूले सोचेकै थिएनन्‌। तर जब चैत पहिलो साता ठेकेदारले काम बन्द गर्न भन्यो, तब समस्या त विकराल भइसकेको पत्तो पाए। 

सडक निर्माण रोकिएपछि पनि लोकेन्द्र केही दिन पञ्‍चाचुलीतिरै बसे। त्यहाँ बस्दा चीनबाट कोरोना भन्‍ने संक्रमण फैलिएको र धेरै मान्छे मरेको खबर सुने। नेपाली कामदारले भारतीय टेलिभिजन हेर्न थाले। काम बन्द छ, दोकान बन्द छन्, ठेकेदार 'नेपाल जाऊ' भन्छ। तर नेपाल बन्द हुने हल्ला चलिसकेको थियो।

लोकेन्द्रसहितका सबै नेपाली मजदुर अलमलमा परे। अब भारतमै बसे झनै समस्या हुने लागेपछि आइतबार नेपाल फर्कने योजना बनाए। तर लोकेन्द्र र उनका साथीहरू सोमबार बिहान भएपछि पञ्‍चाचुलीबाटबाट हिँडे।

भोकभोकै हिँडेका उनीहरू मंगलबार दिउँसो मात्रै नेपालसँगको सीमावर्ती क्षेत्र धारचुला आइपुगे। त्यहाँ सयौं अरु नेपाली पनि महाकाली नदी किनारमा अलपत्र अवस्थामा देखे। 

भोकभोकै बसेका उनीहरूलाई त्यस दिन दिउँसो भारतीयहरूले खाना खुवाए। उनीहरूले दुई दिनसम्मको भोक मेटे। तर नदी किनारमा अलपत्र झण्डै ३०० मानिसलाई देखेपछि लोकेन्द्र र साथीहरूलाई लाग्यो : ज्यान जोखिममा छ।

कोरोनाको डरले बाटोमा कसैलाई नछोई आएका, खाना पनि नखाएका उनीहरूलाई भारतीय पक्षले जनावर राख्‍ने काञ्‍जी हाउसमा आश्रय दियो। तर त्यहाँ सयौं मानिस एकै ठाउँमा कोचाकोच थिए।

सीमावारि भारतीय प्रहरी, सीमापारि आफ्नो देशतिर नेपाल प्रहरी। सीमा बन्द गरेर कसैलाई आवतजावत गर्न दिइएको छैन। लोकेन्द्रले दुई देशको सीमा भएर बगिरहेकी उनै महाकाली नदीतर्फ हेरे।

सानैदेखि चमेलिया नदीमा पौडिएका उनलाई लाग्यो : अब महाकाली पौडिएरै तर्छु र आफ्नो देश पुग्छु। नेपालतिर हेर्दै उनले नेपाल प्रहरीको उपस्थिति नियाल्न थाले। प्रहरीको गतिविधि केही कम भएको देखेपछि लोकेन्द्रले बोकिरहेको झोला टाउकोमा बाँधे अनि ज्यान जोखिममा पारेर महाकाली नदीमा हेलिए। 

बैतडीको डिलासैनी गाउँपालिका-७ धामीगाउँका २१ वर्षीय अमरसिंह धामीले पनि भारतबाट नेपाल आइपुग्दा भोगेको सकस उस्तै छ। भारतमा कोरोनाको त्रास फैलिएपछि उनी त्यहाँबाट निस्किए। दुई दिनसम्म लगातार हिँडेर महाकाली किनारमा आइपुगे। तर नेपालतर्फ प्रवेश गर्ने महाकालीमाथिको पुल बन्द गरिएको थियो। भारतीय प्रहरीले तत्काल त्यहाँबाट अन्यत्र जान भन्दै गालीगलौज गर्न थाल्यो।

सजिलै नेपाल जाने उपाय नै रहेन। तर जसरी पनि नेपाल त आउनु नै थियो। अनि उनीसहित ६ जना साथीहरू एकैसाथ महाकाली नदीमा हाम्फाले। पौडिएर मुस्किलले नदी पार गरे र नेपाली भूमि दार्चुलामा पाइला टेके।

नदीमा हाम्फालेर नेपाल आइपुगेका युवाहरुको शरीरमा पेन्टी र गन्जीबाहेक केही थिएन। उनीहरुलाई प्रहरीले त्यही लुगामा बजार घुमाउँदै आफ्नो कार्यालयसम्म लग्यो। जे होला आफ्नै देशमा होला भन्‍ने सोचेर महाकालीमा हाम्फालेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखेको छ।

३४ नेपाली र ९७७ जना भारतीय क्वारेन्टाइनमा

भारतको विभिन्‍न ठाउँबाट नेपालतर्फ आएका महाकाली नदी किनारमा जम्मा भएका ९ सय ६६ जनालाई सीमावर्ती क्षेत्रका क्‍वारेन्टाइनमा राखिएको छ। भारततर्फको धारचुलाका उप-जिल्ला अधिकारी अनिलकुमार शुक्लका अनुसार उनीहरूलाई पाँच स्थानमा राखिएको छ। 

नेपालीसहित ३८० जनालाई सीमावर्ती क्षेत्र महाकाली नदी किनारमा रहेको काञ्‍जी हाउसमा राखिएको छ भने धारचुलाको मिनी-स्टेडियममा ३०५, जौलजिविमा २००, बालुवाकोटको महाविद्यालयमा ६० र फायर ब्रिगेड गोठीको भवनमा ३२ जना राखिएको धारचुलाका स्थानीय पत्रकार राकेश तिवारीले जानकारी दिएका छन्‌।

भारतका विभिन्‍न ठाउँमा मजदूरी गर्ने नेपालीहरू आउने क्रम जारी रहेकाले उनीहरूलाई सुरक्षितसाथ राख्‍ने व्यवस्था गर्न भारत सरकारका अधिकारीले तयारी गरिरहेको उनले बताए।

महाकाली नदी तरेर नेपाल आउने २० जनालाई व्यास गाउँपालिकाको हुति र १४ जनालाई महाकाली नगरपालिकाको क्‍वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिएका छन्‌। नेपाल आउन चाहनेहरू मौका हेरेर भारततर्फ बसिरहेकाले महाकाली तरेर आउनेहरूको संख्या बढ्न सक्ने देखिएको उनले बताए। 

नेपालीहरूलाई जोखिममा पर्न नदिन सीमाक्षेत्रमा भएका स्थानीय सरकारहरूलाई थप क्‍वारेन्टाइनको व्यवस्था गर्न नेपाली पक्षले आग्रह गरिरहेको कुँवरले जानकारी दिएका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.