|

विनम्र भावले बिन्ती गर्दछु। बाहिर ननिस्कनुहोस्, राज्यले त्यसै लकडाउन गरेको होइन। हाम्रो छिमेकी भारतले पनि २१ दिनको लकडाउन गरेको छ। एकपल्ट सोच्नुपर्छ त्योभन्दा पहिला यो महामारी चीनको वुहान शहरबाट सुरु भएको हो। चीनले यसलाई लकडाउनका माध्यमबाटै निकास दिएको छ। सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानमा सुरु भएको संक्रमण आज विश्वभरी फैलिएको छ।

यो पंक्तिकार देशका सबै दाजुभाइ दिदीबहिनीसमक्ष विनम्र भएर अनुरोध गर्छ, देशले चालेको कदमको पालना गरिएन भने युरोपको जस्तो हालत पनि हुन सक्छ। आजसम्म विश्वभरी आठ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् जसमा (यो लेख तयार पारुन्जेल सम्मको तथ्यांकअनुसार) समयमा करिब चालिस हजारको मृत्यु भइसकेको छ। यो महामारीको रोकथाम नै हामी घरभित्र बस्नु हो।

इटालीले गरेको हेलचेक्र्याइँले जुन अवस्था आएको छ त्यो अवस्था अमेरिकाको न्युयोर्कले पनि व्यहोरिरहेको छ। अहिलेसम्म पौने दुई लाख संक्रमित भएका छन्। अमेरिकामा चार हजारको हाराहारीमा मृत्यु भइसकेको छ। 

अहिले तेरोमेरो होइन हाम्रो देश नेपाललाई बचाउनु हो। आफू बाँच्नु हो। त्यसैले घरभित्र बसौं गुप्तवास झैं, कोरोना नेपाल घुमेर फर्किनेछ अनि हामी बाहिर आउँला। सबैको भलो यसैमा छ।

यस्तै, युरोपमा पाँच लाखभन्दा बढीमा संक्रमण र ३० हजारको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। जसमा इटालीमा मात्र ११ हजार र स्पेनमा आठ हजार फ्रान्समा तीन हजारले बेलायतमा १५ सयले जीवन गुमाए।

यो एउटा खतराको घण्टी हो। यो अवस्थामा हामीले र राज्यको तर्फबाट संयमता अपनाउन गरेको अपिललाई मान्नु नै हाम्रो लागि उत्तम हुन्छ।

राज्यसँग केही कुरा 

यो अवस्थामा पनि पहिले झैं सहयोग गर्नुपर्छ भन्ने सोचले कतै भयावह अवस्था त आउँदैन?  जनताले विशेष अवस्थालाई आत्मसाथ गर्नुपर्ने हो भन्ने त क्रमश: बुझिरहेका छन्। तर राज्यको माथिल्लो तप्का कतै अन्यत्र अलमल गरिरहेको जस्तो भान हुन्छ।

खुल्ला सिमानाबाट आएकालाई हामीले क्वारेन्टाइनमा राख्‍न सकिरहेको अवस्था छैन। हिजोको जस्तो सामाजिक संघ संस्था, परोपकारी संस्थाहरू बाहिर निस्कन पनि नमिल्ने बेलामा राज्यको आफ्नै तह र तप्काबाट जनतालाई अनुभूति हुने कार्य गर्नुपर्ने हो। यो बेला राज्यबाट विभिन्न सञ्‍चार माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने हो।

तीनवटै तहका राज्य संरचनालाई सक्रिय बनाउनुपर्ने हो, तर यहाँ सधैँ केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था सिर्जना गरेको देखिन्छ। केन्द्रीय सरकारले पनि वैदेशिक सहयोगको मुख ताकेको जनताले देखिरहेका छन्।

देशभित्रका सहयोगी मनहरू दुखाएर र नगदको मात्र अपेक्षा राखेर हुँदैन। देशका कतिपय उद्योगी व्यवसायी अन्य तरिकाले पनि सहयोग गर्न तयार छन्। जसलाई साँघुरो घेरामा बसेर मात्र सरकारले बुझ्न सक्दैन। बाहिर निस्कनै पर्छ। विदेशीका सामु हात थाप्नुभन्दा स्वदेशीहरूबीच दु:खको पोको फुकाउनु उत्तम हुन्छ।

आजको खास आवश्यकता

हाम्रो योजनामा कस्तो कस्तो सहयोग चाहिएको छ। कति सहयोगी हातहरू बाहिर आउनुपर्ने हो तिनको स्वास्थ्यको सुरक्षालाई कस्तो वस्त्र उपकरण चाहिएको हो? यो हिजोको भूकम्प होइन, हिजोको प्राकृतिक विपद् होइन। यसको धरातल यहाँ मात्र छैन। अरू देशले कस्तो व्यवस्था गरिरहेका छन्, त्यो बुझिएन भने यो महामारीबाट निकास पाउन सकिँदैन। शब्दहरू भन्दा भावलाई सबैले बुझ्नुपर्ने बेला आएको छ।

करिब तीन करोड जनसंख्या भएको हाम्रो देशले परिचयका लागि विचलित हुनुपर्दैन। हाम्रो देशको नाममा गौतम बुद्ध, सगरमाथा, सीता, कैयन ऋषिहरू, सुन्दर प्रकृति, यार्सागुम्बाले परिचित छ। जहाँसुकैका मानिसले पनि चिन्न सक्ने देश हो नेपाल, कस्तुरीको सुगन्धले सुगन्धित देश सबै मिलेर बचाउनुपर्ने बेला हो।

अहिले तेरोमेरो होइन हाम्रो देश नेपाललाई बचाउनु हो। आफू बाँच्नु हो। त्यसैले घरभित्र बसौं गुप्तवास झैं, कोरोना नेपाल घुमेर फर्किनेछ अनि हामी बाहिर आउँला। सबैको भलो यसैमा छ।

विश्वास र मन बाँडौं

घर आफ्नै हो, कोठा आफ्नै हो, सब आफ्नै हो। अनि किन हामी भित्र बस्दा आराम वा चैन लिन सकिरहेका छैनौँ? यो अहं प्रश्न हामीले आफैंलाई नै गर्ने बेला आएको छ।

आफूले वा आफ्नाले मिहिनेत गरेर बनाएको घरका कोठा वा बस्ने ठाउँ आफ्नो हो भन्ने थाहा हुँदाहुँदा पनि किन हामी हाम्रो घरभित्र सुरक्षाको लागि बस्न सकिरहेको छैनौँ?

आमा बा छोराछोरी वा परिवारको भएका जे जति सदस्य छौं यसबीच हामीले हामीलाई किन सहज बनाउन सकिरहेका छैनौं? एकपल्ट तपाईँले तपाईंलाई नै सोध्ने बेला आएको छ। छोराले बाबुलाई बाबुले छोरालाई आमाले छोरीलाई छोरीले आमालाई सोधी हेरौं। हिजो हामीले व्यतित गरेको जीवनशैलीले हामीलाई लामो समय एकै ठाउँमा बस्दा असहज बनाइराखेको त होइन? खुलेरै भन्न सकिन्छ, हाम्रा केही बदलिएका हाम्रै आचरणले र आधुनिकताका नाउँमा अंगीकार गरेको हाम्रै जीवनशैलीले यस्तो अवस्था आएको हो।

जहाँ सरकार र परोपकारी तथा डाक्टरहरूले हामीलाई भनी रहेका छन्, सोसल डिस्टेन्स अर्थात् सामाजिक दूरी। यो सामाजिक दूरीले हामीलाई पारिवारिक सामिप्यतामा ल्याइरहेको छ। समय र अवस्थाले हामीलाई पाठ सिकाइरहेको छ। हामी नेपाली कहिल्‍यै पनि कसैको दास भएनौं र अधीनमा रहेनौं। त्यसैकारण हामी र हाम्रो समाजको आचरण र व्यवहार विश्वको अरू देशको भन्दा फरक छ। यो हाम्रो संस्कृति बनिसकेको थियो।

बीचमा हराएको चलन र परम्परालाई पुन: जीवन्त बनाउन समयले हामीलाई अवसर दिएको छ। हिजो हामी समाजका लागि काम गर्न लागिरहेका थियौं। त्यसले हामीलाई परिवारबाट अलिक टाढा पुर्‍याइसकेको रहेछ, त्यसैले समयले भन्यो आऊ अब यो समयमा हामी पारिवारिक बनाऔं।

हात र श्रम बाँडौं

घरमा भएको अग्रज (ठूला)हरू के चाहन्छन्, पहिला त्यसमा ध्यान दिनुपर्छ। झर्को नमानी उहाँहरूले भनेका र समाज र हाम्रो बारेमा बनाउनु भएको धारणालाई सुन्ने, दोस्रो सानासाना घरका सदस्यहरूका सुन्ने सुनाउने गर्न सकिन्छ। यो बेलामा आफूले लाद्ने वा थोपार्ने होइन बच्चाहरूसँग खेल्ने, यो बेला पढाइ गृहकार्यका कुराहरू गर्ने होइन, पहिला केही दिन आफू कम बोल्ने उनीहरूलाई बोल्न दिने।

विषयवस्तुहरू भने आफूले प्रवेश गराउन कोशिस गर्ने, राम्रा गीतहरू, भजन/प्रवचनहरूको तयारी गरिदिने, तीमध्ये छान्न छोडीदिने, खासगरी यस्तो अवस्थामा श्रीमती वा आमाहरूलाई खास ध्यान दिने गर्न सकिन्छ।  सँगै बस्ने, खाना पकाउँदा र खुवाउँदा भान्छामा सहयोग गर्ने, भान्छा कोठाको सफाइमा मद्धत गर्ने, आमा वा श्रीमतीलाई मन पर्ने खाना, गाना र नानाको बारेमा सोध्ने कामले कति आनन्द दिन्छ गरेर त हेर्नोस्।

अहिले तेरोमेरो होइन हाम्रो देश नेपाललाई बचाउनु हो। आफू बाँच्नु हो। त्यसैले घरभित्र बसौं गुप्तवास झैं, कोरोना नेपाल घुमेर फर्किनेछ अनि हामी बाहिर आउँला। सबैको भलो यसैमा छ।

यदि कामकाजी आमा, श्रीमती हुनुहुन्छ भने बाहिरको भन्दा घरभित्रको सफल पक्षहरूको बारेमा कुरा गर्ने, उहाँहरूको तर्फबाट आयो भने बाहिरको अफ्ठ्याराहरूका बारेमा पनि कुरा गर्न सकिन्छ। सहज बनाउने उपाय निकाल्न सकिन्छ।

चिन्ता होइन रमाइलो बाँडौं

यस्तो बेला भुलेर पनि आफ्नो कार्य, बैंक मौज्दात वा आवश्यकता वा अपुरो कार्यहरू बारेको कारण झर्कोफर्को नगर्ने, आफ्ना साथीभाइसँग कुरा गर्नु छ भने अलिपर गएर उनीहरूलाई बाधा नहुने गरी गर्नु उपयुक्त हुन्छ। सकिन्छ भने यो बेला बढी फोन नचलाउने यदि आफूले कम चलाए बच्चाहरू श्रीमतीलाई पनि भन्न सजिलो हुन्छ, स्वत: उनीहरूले पनि कम चलाउनेछन्।

यो त भयो वातावरण सहज बनाउने तरिका। अब थप के गर्न सकिन्छ भने त्यसतर्फ ध्यान दिने, समाचारलाई बढी प्राथमिकता नदिने आवश्यकतामा मात्र सूचना प्राप्त गर्नेसम्म हेर्ने र हेर्न दिने। समय तालिका बनाउने, आफूले पहिले अनुशरण गर्ने अनि सबैलाई त्यसको लागि तयार पार्ने।

अब हेर्नुहोस तपाईंको घर बसाई कति सरल र सहज बनिरहेको छ। कोरोना भाइरसले हाम्रो समाजमा पार्न सक्ने दुस्प्रभाव र सकारात्मक परिवर्तनबारे सोच्ने र भन्ने विश्व स्वास्थ्य संगठन र विश्वका अन्य आधिकारिक निकायले प्रेषित गरेको सूचनासँग जोडिने र त्यसको सही समाचारसँग सबैलाई जानकारी गराउने।

आफ्नो धर्म र संस्कारको कुराहरू पनि दिनमा उपयुक्त समयमा प्रत्यक्ष वा रेडियो, युवट्युवबारे  चर्चापरिचर्चा गर्ने आफ्नो विगतको संघर्ष तथा कोशिसका कथाहरू पनि सुन्ने सुनाए पनि प्रेरणादायी बन्न सक्छ।

हामीले यो लकडाउनलाई यो भावसँग बाँच्न सक्यौँ भने अरू थप महिना लकडाउन भए पनि हामी पारिवारिक व्यवस्था मिलाउन सक्छौं।

कोरोना भाइरसका कारण हामी र हाम्रो समाजमा पर्ने आर्थिक भारलगायत विषयमा हामी यो महामारी पछि पुन: चर्चा गरौँला, संघर्ष गरौँला। हिजो पनि संघर्ष नै गरेका हौं। जीवनचक्रमा सधैं मानव जातिले संघर्ष र मिहिनेत नै गर्नुपर्ने हुन्छ र गरेको पनि छ।

अन्तमा फेरि घर नै मन्दिर हो घरमा सबै सदस्य भगवान् हुन, आमाको रुपमा माता भगवती, काली सरस्वती सबै रूप देखिन्छ। अन्य बालकहरूमा कृष्णको बासुरीँको धुन सुनिन्छ। योद्धाको रुपमा घरका सदस्यहरू देखिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.