विचार

भाले खोज्‍ने रूख

चैत २१, २०७६

    'आज त दिदीलाई घुमाउने मेरो पालो होला नि?' चियाको कप समाउँदै लक्ष्मी भाइले भन्‍नुभयो।'किन आज भाइको छुट्टी? तर रेडियोमा पाएको एकदिन बिदामा पनि घर त बस्नुहुन्‍न त। चिनियाँ मैयालाई दिउँसो पढाउन जानुहुन्छ त सधैँ बिदामा। आज जानु नपर्ने हो र?' आज जानु नपर्ने भयो ऊ आमालाई भेट्न जाने रे।

    ठिकै भयो मलाई पनि घरको सामान किन्‍न जानु छ। दिदीलाई कता घुमाउन लैजाऊँ आज? धेरै पर त लैजान सक्दिनँ नजिकै लिएर गए सामान किन्‍न पनि भ्याइन्छ।' चेतनाथसित एउटै फ्ल्याटमा बस्‍ने लक्ष्मी भाइले भने।

    'परपरको हेर्दै आएकी त छु तर नजिकको तीर्थ हेला भनेझै नजिक त म पनि घुमेकी छैन नि। आज नजिकै घुम्‍न जाऊँ न त। ' मैले भाइको मनशाय बुझेर उनलाई सजिलो बनाउँदै भनेँ।'आज यतै मल र पार्कतिर घुमाउन लैजान्छु ल दिदी। लक्ष्मी भाइले चिया गफको बिट मार्दै भने। 

    खाना खाएर हामी सबैभन्दा पहिले घर नजिकैको वान्ता प्लाजामा गयौँ। सामान किन्‍नुभन्दा पहिले नै वान्ता प्लाजाको तलदेखि पाँच तला माथिसम्म सबै पसल नियालेँ मैले।  मलभित्र घुमिसकेपछि घरको लागि आवश्यक सामान किन्यौँ। मैले पनि आफ्नो लागि एउटा ज्याकेट किने। चाइनिज सामान ज्याकेट, चीन गएर किन्दा मलाई पनि सस्तो नै पर्‍यो र मख्ख परेँ।

    सामान किनेर झोला बोक्दै हामी बाटो लाग्यौँ। हामी हिँडेको बाटोको अर्कोपट्टिको फुटपाथ नजिकको धेरै रूखहरूलाई प्रत्येक रूखहरूमा चारैतिरबाट टेको दिएर दुईजना मानिसले रूखमा सिसी जस्तो लाम्चो केही झुन्ड्याउँदै थिए।

    'दिदी ऊ हेर्नु रूखलाई सलाइन पानी दिँदै छन् तिनीहरू' लक्ष्मी भाइले तिनै मानिसहरूतिर देखाउँदै भने।

    'लौ रूखलाई पनि सलाइन पानी दिनुपर्छ र?' मलाई भाइले जिस्किएको जस्तो लाग्यो। किन पनि मैले उनको कुरा पत्याउन सकिनँ भने चेतनाथ र लक्ष्मी भाइ मलाई जतिखेर पनि उल्याइरहेका हुन्छन्। त्यसैले अहिले पनि उल्याएकै हुन कि जस्तो लाग्यो। मैले नपत्याएको भेउ पाएर हो कि उनले अलि अगाडि पुगेर जेब्राक्रसबाट बाटो कटाएर फर्काएर मलाई तिनै मानिसले काम गरिरहेको ठाउँमै पुर्‍याए। 

    वसन्त ऋतुको आगमन हुँदा चराचुरुङ्गी, जनावरको प्रणयकाल चरमोत्कर्षमा पुगेको हुन्छ भनिन्छ। त्यस्तै वसन्त ऋतुमै बेइजिङका यी वनस्पतिको पनि गर्भाधानको समय भएको रे। बेइजिङका यिनै रूखहरूले परागसेचनको अवधिमा तमासा देखाउने गर्दछन्। ' कस्तो अचम्म लाग्दो कुरा। लक्ष्मी भाइले गरेका कुरा मेरो लागि सत प्रतिशत नयाँ थिए। म ध्यान दिएर भाइको कुरा सुनिरहेकी थिएँ।

    साच्चै त्यहाँ त टेको दिएका रूखहरूलाई सलाइन नै दिइरहेका थिए ति चिनियाँहरू। अचम्म लाग्यो र सोधेँ'के हो यो भाइ?' उनले हास्दै भने'आफ्नो मुलुकमा मानिस बिरामी हुँदा समयमा सलाइन चडाउन नपाएर ज्यान गुमाएका समाचार बन्दछन्।

    तर हेर्नु दिदी, यहाँ रूखलाई स्वस्थ्य बनाउन यसरी पोषण दिइन्छ। यहाँ जति पनि रूख देख्नु भएको छ नि यी सबै ठूलो  भैसकेपछि यहा ल्याएर मेसिनले रोप्दछन्।'

    'बूढो भइसकेको रूखको जराले माटो समाउँछ त? त्यस्तो ठूलो रूख त ठाडै सुक्दैन र?'

    म ६/ सात वर्षकी हुँदी हुँ। हाम्रो घर अगाडिको बाटो फराकिलो बनाउने भए। दुवैतिर जमिन छोड्नु पर्दा बाटोको छेउमा हुर्कंदै गरेको नरिवलको बोट काटनुपर्ने भएछ। छिमेकी हजुरबुवाले त्यसलाई माटैसहित उखेलेर आफ्नो बारीमा सार्नुभएको थियो तर नरिवल सरेन विस्तारै सुकेर गयो। रूखको विरुवा मात्र रोपेर सरेको देखेकी मैले लक्ष्मीसित आशंका पोखिहालें।

    'यहाँ रोपिएका रूखका विरुवा भनौँ यस्ता ठूला भइसकेका रूखलाई चारकुना वा गोलाकारमा जराले भेटेजति माटोसहित क्रेनले उखेल्छन्। जहाँ रोप्‍ने हो त्यता पनि त्यत्रै खाल्डो खनेको हुन्छ। त्यहाँ ल्याएर क्रेनले नै रोप्दछन्। विरुवा नहल्लिऊन् भन्‍नाका लागि यसरी चारैतिरबाट टेको लगाइदिन्छन्। विरुवालाई नयाँ माटो र हावापानीमा आइपुग्दा उसलाई चाहिए जति पोषक तत्व नपाउन सक्दछ भनेर विरुवाको स्थीति अध्ययन गर्दै यिनीहरूले यसरी सिरिन्जले नै सेलाइन पानी दिएर जान्छन्।'

    कति समयसम्म यसरी सलाइन दिएर राख्दछन् त भनेर मैले सोधेँ। यसको सही जवाफ त लक्ष्मी भाइसित पनि रहेनछ उनले चिनियाँ भाषामै कर्मचारीलाई सोधे। कर्मचारीले उनलाई दिएको जानकारीअनुसार ती रूख जबसम्म पूर्ण स्वस्थ्य हुँदैनन् तबसम्म मात्रा मिलाई-मिलाई यसरी नै सलाइन दिइरहनु पर्छ रे।  त्यो बेला मैले हाम्रो नरिवलको बोट मर्नुको कारण थाहा पाएँ।

    'यी रूखको खेती चाँहि कहाँ गरिन्छ त?' हामी त्यहाँबाट बाटो लाग्दै मैले सोधेँ।' शहरभन्दा बाहिर जताततै देखिन्छ रूखका नर्सरीहरू। पहिले त बाहिरी देशबाट पनि ल्याएर रोपे अहिले चाँहि यहि रोपेको देखेको छु।' बाहिरी मुलुकबाट रूख ल्याएर रोप्‍ने चीनले क्यानरी आइल्याण्डबाट आगोले नजल्ने रूख पनि ल्याएर रोपेका होलान कि भन्‍ने कौतुहलता जागिहाल्यो।

    मेरो कौतुहलता सुनिसकेपछि लक्ष्मीले हास्दै भने, 'खै दिदी त्यस्तो आगोले पनि नजल्ने रूखलाई ल्याएर बाटोको छेउमा त के रोपेका होलान र खै। रूख नजल्ने भए त यी पातहरू पनि नजल्नुपर्ने हो तर यस्ता पात सधैँ उठाएर लैजान्छन्। त्यो त जलाउने वा गलाउने त होलान नि।'

    'एकैनासका पीपलको जस्तो पात भएका यस्ता रूख त मैले अमेरिकामा पनि देखेकी थिएँ।' गफको विषय तिनै फुटपाथका छेउका रूख थिए हाम्रो बीचमा। 'होला नि दिदी, यो रूखलाई के भन्दछन् थाहा छ?' यस्ता रूखको मुनिबाट त धेरै वर्ष हिँडेकी हुँ भर्जिनिया र न्यूयोर्कतिर तर रूखको नाम भने कहिल्यै कसैलाई सोधिएन पनि र थाहा पनि भएन।

    त्यसैले भाइको प्रश्‍नको जवाफ टाउको हल्लाएर दिएँ, छैन भन्दै।'  चिनियाँ भाषामा यस्ता रूखलाई याङ्शु भनिन्छ। यो रूखलाई अङ्ग्रेजीमा पोपलर भनिन्छ भने नेपालीमा लहरे पीपल भनिन्छ।'

    'यो रूखबाट त वैशाख लागेपछि सेतो भुवा निस्कन्छ नि होइन त? आँखामा परेर बाटोमा हिँड्न नै गाह्रो हुने।' लक्ष्मी भाइले प्रश्‍न गरे। 'खै भाइ त्यस्तो भुवाको त सम्झना छैन मलाई तर यस्तो पात भएको रूख भने अमेरिकामा पनि प्रशस्त देखिन्छ।' 

    'बेइजिङ फरेस्ट्री युनिभर्सिटीअन्तर्गत कलेज अफ बायोलोजिकल साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर खाङ् स्याङयाङ जो फरेष्ट्री युनिभर्सिटीको जङ्गल प्रजनन, राष्ट्रिय इन्जिनियरिङ प्रयोगशालाका निर्देशक पनि हुन्। उनको भनाइअनुसार 'यी भुवाहरू भालेपोथी भएर, समागमपश्चात् नयाँ विरुवा उत्पादनका लागि भौतारिइरहेका हुन्छन्। मध्य अप्रिलपछि उनीहरू आफ्नो रूखबाट भुवा बनेर उडिहिँड्छन्।

    ए भाले रूख रोपेका होलान त्यहाँ धेरै त्यही भएर भुवा देखिएन। यहाँ भने पोथी रूख बढी भएकोले भुवा धेरै देखिन्छ। ' भाइको कुराले अचम्म लाग्यो। 'रूख पनि भालेपोथी हुन्छन् त कतै?' 'यो रूखमा हुने रहेछ दिदी भाले पोथी। ओ हो दिदी, चीनमा हरियाली ल्याउनका लागि रोपिएका यी रूखबाट निस्किएका सेतो भुवाले त वसन्त ऋतुमा पनि हिउँको आभास दिलाउँछन्। 

    नीलो आकाश र स्वच्छ वायुका लागि प्रयास गर्दै आएको चीनले निकै जोडतोडका साथ हरियाली बढाउँदै लगेको त छ तर यी रूखबाट निस्किएका सेता भुवाले भने हैरान नै बनाउँछन्।

    वसन्त ऋतुमा पनि आँखामा चस्मा र मुखमा मास्क लगाएर हिँड्नु पर्दछ यी भुवाले गर्दा। कतिलाई त यी भुवाको एलर्जी नै भएर बिरामी पनि हुन्छन् नि। दमका बिरामीको लागि त यो खतरा नै हो।' 'ए किन निस्कने होला नि यस्ता भुवा? प्रकृतिको लीला पनि अपरम्पार छ नि।'

    वसन्त ऋतुको आगमन हुँदा चराचुरुङ्गी, जनावरको प्रणयकाल चरमोत्कर्षमा पुगेको हुन्छ भनिन्छ। त्यस्तै वसन्त ऋतुमै बेइजिङका यी वनस्पतिको पनि गर्भाधानको समय भएको रे। बेइजिङका यिनै रूखहरूले परागसेचनको अवधिमा तमासा देखाउने गर्दछन्। ' कस्तो अचम्म लाग्दो कुरा। लक्ष्मी भाइले गरेका कुरा मेरो लागि शतप्रतिशत नयाँ थिए। म ध्यान दिएर भाइको कुरा सुनिरहेकी थिएँ।

    भाइ बोल्न छोडेर मोबाइलमा के के हेर्न थाले। एकैछिनमा उनी फेरि बोल्न थाले 'बेइजिङ फरेस्ट्री युनिभर्सिटीअन्तर्गत कलेज अफ बायोलोजिकल साइन्स एन्ड टेक्नोलोजीका प्रोफेसर खाङ् स्याङयाङ जो फरेष्ट्री युनिभर्सिटीको जङ्गल प्रजनन, राष्ट्रिय इन्जिनियरिङ प्रयोगशालाका निर्देशक पनि हुन्। उनको भनाइअनुसार  'यी भुवाहरू भालेपोथी भएर, समागमपश्चात् नयाँ विरुवा उत्पादनका लागि भौतारिइरहेका हुन्छन्। मध्य अप्रिलपछि उनीहरू आफ्नो रूखबाट भुवा बनेर उडिहिँड्छन्।

    फरक-फरक प्रजाति र तापक्रमका कारण यिनीहरू करिब ४० दिनजति यता र उता उड्ने गर्छन्। यो वृक्षको विकासको एउटा नियम हो। पोथी रूखका भुवाहरू यत्रतत्र फैलिन्छन्। उपयुक्त भालेसँग समागम गरेर प्रजनन गर्नका लागि उनीहरू भाले भुवा खोज्दै हिँडिरहेका हुन्छन्। उनीहरू करिब १० दिनसम्म उडेर भालेको खोजी गर्ने विज्ञहरूले  बताएका छन्।'

    'यस्तो नराम्रो दु:ख दिने रूखलाई सलाइन दिई-दिई किन रोप्‍नुपरेको होला त चीनले? अरू नै खाले रूख रोपे भइहाल्‍छ नि। नत्र अमेरिकाको जस्तै भाले रोपेको भए भइहाल्थ्यो नि।'

    यसको कारण छ नि दिदी, तीव्र विकाससँगै चीनमा प्रदूषणको मात्रा पनि निकै फैलियो। जसका कारण चीनले अन्तर्राष्‍ट्रिय जगतबाट पनि आलोचना खेप्‍नुपरेको थियो।  चीनसित शहरीकरणसँगै हरियाली प्रवर्द्धन गर्नुपर्ने बाध्यता पनि थियो।

    यसैक्रममा चीनले पोपलर नामक रूखहरू सडक किनार यत्रतत्र रोप्दै गयो। सन् १९६० अगाडि त यो मरुभूमि जस्तै रूख विरुवा एकदम नै कम भएको ठाउँ रहेछ नि। सन् १९६० मा एकैपल्ट १२ करोड यस्ता रूखहरू रोपेको रे चीनले। त्यो बेलामा पोथी रूख बढी भए भालेको तुलनामा त्यसैले वासन्ती वीर्य अर्थात् सेतो भुवा चारैतिर फैलिएको हो।

    'सातवटा पोथी रूखको दाँजोमा तीनवटा मात्र भाले रूख भइदिएकोले यस्तो समस्या आएको हो। ती पोथी रूख जसको संसर्ग हुन सकेन त्यसले आफ्नो अपूर्ण कामेच्छा प्रकट गर्न त्यस्ता भुवा फाल्ने गर्दछन् रे, उफ कस्तो अचम्मको कुरा सुनाउनु भयो भाइ।'

    'तर अहिले बेजिङमा पहिलेको तुलनामा यस्ता भुवा कम उडन थालेका छन्।' 'कसरी त भाइ?' कहिले हेरेर जानिन्छ भने कहिले सुनेर र पढेर। आज म लक्ष्मी भाइका नौला कुरा सुन्दै थिएँ। म वसन्त ऋतुमा त त्यहाँ पुगेकी थिइनँ तर पात झर्न थालेका रूखलाई भने हेर्न पुगेकी थिएँ  र तिनै रूखबारे नौलो कुरा सुन्दै थिएँ।

    'यो चीन हो दिदी, यसले अनौठो-अनौठो कति काम गरेर देखाइसकेको छ। रूखलाई सलान पानी दिएर बचाउने चीनले पोथी रूखलाई भाले बनाउन पोथी रूखमा रसायन इन्जेक्ट गर्दै आएको छ। जसबाट पोथी रूखको जेन्डर अर्थात् लिंग नै परिवर्तन गर्न थालिएको छ। अर्थात ट्रान्सजेन्डर रूख।'

    'के के गर्ने नि यो चीनले पनि? इन्जेक्सन दिनुभन्दा यो प्रजातिकै रूख नरोप्‍नु नि बरु।'

    'यो रूखको बेफाइदा भन्‍नु नै त्यै एउटा भुवा त हो दिदी। यसका फाइदा धेरै छन् नि। यो रूख १०० वर्षसम्म रहन्छ रे। तर बढ्न चाँहि अति चाँडो बढ्ने रहेछ। अहिले टेका दिएका रूख अर्को वर्ष आएर हेर्नुभयो भने टाउको पूरै बटारेर माथि हेर्नुपर्ने हुन्छ।

    त्यति चाँडो बढे पनि यो रूख कमजोर भने हुँदैन। यसको जरा निकै बलियो हुने भएकाले ढल्ने सम्भावना पनि कम हुन्छ। यो धेरै अग्लो भएर हुर्किन सक्ने भएकोले हाँगा भाँचिने डर पनि भएन। फेरि यसको पात हेर्नु त, पीपलका जस्ता पात हुने भएकाले परिपक्‍व अवस्थामा कति घना हरिया र आकर्षक देखिन्छन् नि। अहिले पो पहेँला भएर झर्न थालेको बेलामा पर्नु भयो र!'

    लक्ष्मी भाइले मलाई बुझाउने काम गरिरहेका थिए। 'म चाइना रेडियोमा काम गर्ने भएकोले यी रूखबारे धेरै समाचार पढिसकेको छु। यसको भुवा आउने मात्र नराम्रो पक्ष हो। यसका राम्रा पक्ष अरू पनि धेरै छन् नि। यसको काठ हलुका हुन्छ तर धेरै बलियो हुन्छ। त्यसैले निर्माण कार्यमा धेरै जसो यही काठको प्रयोग गर्दछन् चाइनिजहरू। गितार, ड्रम बनाउनका लागि यसको प्रयोग गरिन्छ। पेन्टिङमा पनि यसैको प्रयोग हुन्छ, मोनालिसाको तस्वीर पनि पोपलार रूखमै पेन्ट गरिएको थियो।

    यति उपयोगी वृक्ष  केही दिनको घाँडो नै बने पनि यसका धेरै राम्रा पक्ष छन्। वातावरणीय संरक्षण र हरियालीका लागि रोपिएका रूखहरूको प्राकृतिक नियम स्वीकार्नुबाहेक अरू विकल्प पनि त छैन।'

    जे होस् चिनियाँहरूले स्वच्छ वातावरणका लागि एकैपटक १२ करोड रूख रोपेर सुरु गरेको अभियान अझै छोडेका रहेनछन् भन्‍ने प्रमाण हेरेर फर्कंदै थिएँ म। मनमा आयो आफ्नै देश र कसरी मासियो हाम्रो देशको हरियो वन नेपालको धन?

    यस्तै रूख रोपे हुन्थ्यो होला नि हाम्रा शहरहरूमा पनि तर मसलाको रूख रोपेको काठमाडौं चक्रपथ अहिले शून्य भइसकेको छ।  जंगलहरू पनि मासिँदै गए। यहाँ भने मरुभूमि हरितभूमि भइसकेको छ। 

    हामी रूखका गफ गर्दै हिँडिरहेका थियौँ मेरो नजर फुटपाथमा टाँसिएका जस्ता देखिने भिजिटिङ कार्डमा पर्न पुग्यो। तीन/चारवटा सम्मलाई त कसैको खल्तीबाट खसेको होला भनेर वास्ता पनि गरिनँ तर लाइनै पाँच पाइला जति हिँड्नासाथ एउटा कार्ड देखिएपछि के रहेछ भन्दै उठाउन खोजेँ।

    मैले कार्ड उठाएर पढ्न पनि पाएको थिइनँ लक्ष्मी भाइ हास्‍न थाले। 'किन हासेको? के यो उठाउनु हुँदैन्थ्यो र?' 'हुन्छ चाइनिज अक्षरमा भएकोले पढ्न त सक्नुहुन्‍न त्यही पनि  हजुरलाई काम लाग्‍ने कुरै होइन त्यो।' भाइको कुराले मलाई कार्ड उठाउन झन् हतार भयो। मैले दुई/तीनवटा  भिजिटिङ कार्ड उठाएर हेर्न थालेँ। २०/२२ वर्षका जति देखिने केटीहरूको सेक्सी फोटो र साथमा मोबाइल नम्बर। अरू अक्षर त के बुझ्नु र?

    त्यो रहेछ यौन व्यवसायको लागि इच्छुक पुरुषलाई आमन्त्रण गरको व्‍यहोराको भिजिटिङ कार्ड। ' ओहो यति भर्खरका अनि यति राम्रा केटीहरूले फोटो नै राखेर कसरी कार्ड नै बनाएर धन्दा गरेका होलान्? बाबुआमा वा चिनेकाले के भन्लान् भन्‍ने पनि नभएको?' लौ दिदी पनि कती लाटी हुनुहुँदो रहेछ। यो फोटोमा भएकै केटीको कार्ड होइन। फोटो त मोडलको हो नि।'

    'अनि अरूको फोटो प्रयोग गरेर बेइज्जत गर्न पाइन्छ त? तिनै मोडल वा सरकारले पनि केही गर्दैन त खुलेआम राजधानीमै यौन व्यापारको यसरी प्रचारप्रसार गर्दा? यो त राजधानीको बेइज्जत भएन र? खुलेआम देहव्यापार भएन त? 'यस्ता यौन व्यवसायी बेजिङमा मात्र दशौं लाख छन् भनिन्छ। यस्तो व्यवसाय गर्ने चिनियाँ  मात्र नभएर विदेशीहरू पनि छन्।

    कार्डमा भएको फोन नम्बर व्यक्तिको मात्र नभएर यस्तो व्यवसाय गरेर बसेका संस्थाहरूको पनि हुन सक्दछ। उनीहरूले सोध्दछन् कस्तो केटी चाहिएको हो? कुन देशको नागरिक चाहिएको हो भनेर। अनि फोनमै पैसाको मोलमोलाइ हुन्छ। पैसा र शरीरको चाहना मिलेपछि के चाहियो र?'

    गफ गर्दै हिँडेको बाटो कटेको पत्तै भएन छ। लिफ्टमा चढेपछि मुखबाट निस्कियो- 'भाले खोज्‍ने चाइनाको रूख र केटीहरूले त घरमै पुर्‍याएर छोडेछन् नि हामीलाई।'

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]