|

काठमाडौं :  कोरोना भाइरसको विश्वव्यापी प्रभाव परेसँगै नेपालको धार्मिक क्षेत्रमा पनि यसको प्रभाव परेको छ। नेपाल सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेपछि मुलुकका धार्मिकस्थल पनि सुनसान प्राय: छन्।

पशुपति मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको उपस्थिति शून्यप्राय छ। पशुपति परिसरमा पशुपति विकास कोषका सुरक्षाकर्मी र कर्मचारीको मात्र उपस्थित देखिन्छ। साथै यतिखेर मन्दिर वरपर पशुचौपाया र परेवा र बाँदरहरू मात्र यताउता ओहोदोहोर गरेको देखिन्छ।

पशुपति परिसरमा रहेका गाई, परेवा, कुकुर र परेवालाई दिनको दुईपटक आहारा खुवाउने व्यवस्था गरिएको छ। बिहानको समय र दिउँसोको समयमा खाना र आहारा दिने व्यवस्था गरिरहेको पशुपति विकास कोषले जनाएको छ।

बिहानको ६ बजे र दिउँसोको ३ बजे पशुपति क्षेत्रमा रहेका गाई,परेवा, बाँदर र कुकुरलाई आहाराको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। उनका अनुसार विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगमा आहाराको व्यवस्था गरिएको हो।

पशुपति क्षेत्रमा मात्र रहेकालाई नभएर अन्य क्षेत्रमा रहेका प्राणीलाई पनि आहाराको व्यवस्था गरिएको छ। आममानिसको चासोलाई लिएर पशुपति विकास कोषले मानव सेवा र प्राणी सेवाको लागि काम गर्ने ढकालले बताए।

दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र सडकमा बस्न बाध्य भएका नागरिकलाई पनि खानाको व्यवस्था गरेको छौँ,’ उनले भने,’ १२ बजेदेखि २ बजेसम्म सुमार्गी भवनमा नि:शुल्क खाना खुवाइरहेका छौँ।'

शवदाह नरोकिने

शवदाह गर्नको लागि कुनै पनि समस्या नरहेको उनले जानकारी दिए। कठिन परिस्थितिमा पनि शवदाह नरोकिने उनको भनाइ छ। संवेदनशील क्षेत्र भएकोले विकास कोषका कर्मचारी २४ घण्टा कार्यक्षेत्रमा रहेको उनले प्रष्ट पारे। विद्युतिय शवदाह गृहको क्षमता पनि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.