बैतडी : कोरोना (कोभिड-१९) भाइरस संक्रमणका बीच देशभर खाद्यान्न आपूर्ति सहज बनाउने कोशिस भइरहेका बेला बैतडीमा भने तीन महिनाका लागि आवश्यक तीन लाख क्विन्टलमध्ये दुई लाख चार हजार क्विन्टल खाद्यान्न अझै व्यवस्था गरिएको छैन।
अहिले जिल्लाभर रहेको खाद्यान्नले एक महिनाको माग मात्र धान्न सक्छ। बैतडीमा ५३ हजार घरधुरी (अनुमानित) मा दुई लाख ७० हजार नागरिक बसोबास गर्छन्। जिल्लामा प्रतिमहिना एक लाख क्विन्टल खाद्यान्न माग हुने गरेको छ।
कोरोना भाइरस रोकथाम जिल्ला कमाण्ड पोष्टका अनुसार अबको तीन महिनासम्म माग धान्नका लागि जिल्लामा दुई लाख चार हजार क्विन्टल खाद्यान्न आवश्यक पर्नेछ। सबैभन्दा बढी १ लाख २० क्विन्टल चामल आवश्यक पर्ने देखिएको छ।
यस्तै ४० हजार क्विन्टल मकै र गहुँको पिठो, २५ हजार क्विन्टल आलु, पाँच हजार क्विन्टल दाल, चार हजार क्विन्टल चिनी, १०० क्विन्टल प्याज, ४० क्विन्टल नुन, एक हजार लिटर तेल र खाना पकाउन १० हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्ने जनाइएको छ।
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जिल्लामा तीन महिनासम्मको माग धान्ने गरी पर्याप्त मात्रामा खाद्यान्न व्यवस्था गर्न र सो को विवरण पठाउन निर्देशन दिएको छ। यसअनुसार कमाण्ड पोष्टले जिल्लामा मौज्दात रहेको खाद्यान्न परिमाण र अपुग विवरणको तथ्याङ्क निकालिएको हो।
कमाण्ड पोष्टका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार जिल्ला कमाण्ड पोष्टले तीन महिनाका लागि आवश्यक पर्ने खाद्यान्नको विवरण निकालेको हो। 'लकडाउन' लम्बिए अभाव हुनसक्ने भएकोले आपुर्तिका लागि जिल्लामा मौज्दात र आवश्यक पर्ने खाद्यान्नको तथ्यांक निकालिएको उनले जानकारी दिए।
कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग बाणिज्य संघबीच जिल्लामा मौज्दात रहेको र अपुग खाद्यान्न परिमाणबारे छलफल भएको थियो। खाद्यान्न मौज्दातको स्थितिबारे पालिकाहरु र उद्योग बाणिज्य संघलाई विवरण पठाइएको तथा अत्यावश्यक बस्तुको सहज आपुर्ति र बिक्री-वितरणको व्यवस्था प्रभावकारी बनाउन पहल सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए।
उनका अनुसार जिल्लाका मौज्दात र आवश्यक आपुर्तिको स्थितिबारे गृह मन्त्रालय, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जानकारी पठाइएको छ।
८५ हजार क्विन्टल मौज्दात
यतिखेर जिल्लामा ८५ हजार बढी क्विन्टल खाद्यान्न मौज्दात रहेको जनाइएको छ। कमाण्ड पोष्टका अनुसार बैतडीका हाल ८५ हजार ४० क्विन्टल खाद्यान्न मौज्दात छ।
बजार र स्थानीय उत्पादन गरी सबैभन्दा बढी चामल ४५ हजार क्विन्टल मौज्दात रहेको कमाण्ड पोष्टका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
यस्तै गहुँ र मकैको पिठो ३० हजार क्विन्टल, आलु पाँच हजार क्विन्टल, दाल दुई हजार क्विन्टल र चिनी एक हजार क्विन्टल मौज्दात रहेको छ। नुन र प्याज १०/१० क्विन्टल, तेल दुई हजार लिटर र एलपी ग्याँस दई हजार सिलिण्डर मौज्दात रहेको देखिएको छ।।
सरकारी अधिकारी र सरोकारवालाहरु यतिखेर जिल्लामा रहेका १० वटा स्थानीय तहमा आवश्यक पर्ने खाद्यान्न र आपुर्ति कसरी गर्ने भन्ने तयारीका जुटेका छन्। लकडाउनमा खाद्यान्न संकट हुनसक्ने भन्दै पूर्वतयारी थालिएको सुर्नया गाउँपालिका अध्यक्ष वीर बहादुर विष्टले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।