|

काठमाडौं : सरकारले चीनबाट खरिद गरिएको टेस्ट किटको गुणस्तरमा कुनै समस्या नरहेको दाबी गरेको छ। 

चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा ‘करोडौँ भ्रष्टाचार भएको र सामान पनि गुण्स्तरीय नआएको’ आरोप लागिरहेका बेला स्वास्थ्य मन्त्रालय प्रतिवादमा उत्रिएको हो। 

स्वास्थ्य तजा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ सल्लाहकार डा. खेम कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका कुनै पनि र्‍यापिड टेस्ट किटको गुणस्तर निर्क्योलपछि मात्रै प्रयोगमा ल्याइने तर्क गरेका छन्। 

‘जुनसुकै देशबाट ल्याएको भए पनि तिनको गुणस्तर परीक्षण नभइ प्रयोगमा ल्याउन मिल्दैन’, कार्कीले भनेका छन्, ‘र्‍यापिड टेस्ट किट अनधिकृत श्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै परीक्षण पास नभइ प्रयोग नगर्न भनिएको हो।’

मन्त्रालयले चीनबाट ल्याएका किटमा कुनै खराबी नरहेको पनि दाबी गरेको छ। ‘सरकारले ल्याएका र्‍यापिड टेस्ट किटको गुणस्तर जाँच्न नेपाल स्वास्थय अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको छ’, कार्कीले भनेका छन्, ‘परिषद्ले प्रयोग गर्न योग्य सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो।’

सरकारले चीनबाट खरिद गरी ल्याएका र्‍यापिड टेस्ट किट त्यहाँको सरकारबाट गुणस्तर प्रमाणित भएको दाबी पनि मन्त्रालयले गरेको छ।

‘चीन सरकारले प्रमाणित गरेका र्‍यापिड टेस्ट किट ल्याइएको हो। नपालमा महामारी फैलिहाले र एकै पटक हजारौँको परीक्षण गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्‍यापिड टेस्ट किटको प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदहरुको पिसिआर प्रविधिबाटै अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्वतयारी गर्न खोजिएको हो। युरोप, अमेरिकाले नि यही विधिमार्फत परीक्षण गरिरहेका छन्।’

डाक्टर कार्कीले केही कम्पनीहरुले बजारमा अवैधरुपमा र्‍यापिड किट ल्याएको पनि दाबी गरेका छन्। ‘बजारमा अनधकिृतरुपमा भित्र्याइएका र्‍यापिड टेस्ट किटलाई नियन्त्रण गर्न अनुमति नलिई परीक्षण नगर्न निर्देशन भइसकेको छ’, उनले भनेका छन्, ‘यो संकटका बेला सहयोगको आवश्यता छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.