|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा छलफल भएको छ। 

कोरोना भाइरस रोकथामका लागि चीनबाट स्वास्थ्य सामग्री खरिदका क्रममा गडबडी गरिएको भन्दै चर्को आलोचना भइरहेका बेला दुई नेताबीच भेट भएको थियो। यद्यपि दुई नेताबीच बालुवाटारमा छलफलपछि स्वास्थ्य मन्त्रालयले हाल जारी खरिदका लागि भएको ठेक्का सम्झौता नै तोडिसकेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो भएको भेटमा दुई नेताबीच स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारेमा छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ। प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले ठेक्का रद्द गर्न निर्देशन दिएको दाबी स्रोतको छ। 

भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा भएको गडबडीबारेमा सोधखोज गरेको दाबी स्रोतले गरेको छ। दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएपछि सरकारले ओम्‍नी समूहसँग भएको एक अर्ब २४ करोडको औषधि तथा मेडिकल उपकरण खरिद सम्झौता रद्द गरेको थियो।

सरकारले २० प्रतिशत महँगोमा ती सामग्री खरिद गरेको स्वीकारिसकेको छ। ओम्‍नी समूहले मंगबालरसम्म १८ प्रतिशत मात्रै सामान ल्याउन सकेकाले ऊसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिइसकेका छन्। 

यो भेटमा अध्यक्ष दाहालले दार्चुलासहित भारतीय सीमाक्षेत्रमा रोकिएका नेपालीको अवस्थाबारे जानकारी दिँदै उनीहरुबारेमा तत्काल निर्णय लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका बताइएको छ। त्यसैगरि यो भेटमा लकडाउनका कारण संकटमा परेका मजदुर र गरिब परिवारलाई राहतबारे पनि छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.