|

बैतडी : कोरोना भाइरस संक्रमणबाट जोगाउन सुर्नया गाउँपालिकाले हरेक घरधुरीमा चिट्ठी पठाउने भएको छ। वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले स्थानीयवासीलाई सजग बनाउन चिट्ठी पठाउने निर्णय गरेको हो। 

समन्वय समितिका संयोजक तथा सुर्नया गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई सचेतनामूलक चिठ्ठी पठाइँदैछ। बुधवार बसेको समन्वय समितिको बैठकले बिहीबादेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा कोरोनाबाट बच्नको लागि सचेतनामूलक चिठ्ठी साथै साबुन पनि दिने उनले जानकारी दिए। 

घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरीबाट जीवन निर्वाह गर्ने र बेसहाराको तथ्यांक संकलन गरिनेछ। बुधवार वडा नम्बर ३ का सातवटै टोलका १४ जना परिचालकहरुलाई चिट्ठी र साबुन बितरण गर्न ४५० चिट्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लिला बिष्टले बताए। वडा कार्यालयले भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न अनुरोध समेत गरेको छ।

किटनाशक औषधि छर्कने कार्य जारी 

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधि छर्कने कार्य जारी रहेको छ। जिल्लाका मूख्य बजारहरुमा कीटनाशक औषधि छर्कने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। भाइरस तथा कीटाणुहरु नष्ट गर्ने उद्देश्यले औषधि छर्ने कार्य शुरु गरेको उनले बताए। 

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार क्लोरिनमा पानी मिसाएर दमकलको सहायताले औषधि छर्कने काम भइरहेको छ। जिल्ला प्रशासनको अगुवाइमा सञ्चालन भएको औषधि छर्कने कार्यमा दशरथचन्द नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सहयोग गरेको छ। डिभिजन कार्यालयले क्लोरिन र दशरथचन्द नगरपालिकाले दमकल सहयोग गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि औषधि छर्कने कार्यमा खटिएका छन्‌। 

जिल्लाको गोठलापानी, शाहीलेक,देहीमाण्डौं, मुस्याचोर र सतबाँझ बजारमा कीटनाशक औषधि छर्किइएको छ भने अन्य बजारहरुमा पनि औषधि छर्कने योजना छ। यस्तै, पाटन नगरपालिकाले पनि पाटन बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

नगरपालिकाका अन्य बजारमा पनि औषधि छर्कने योजना रहेको, तर क्लोरिन अभाव भएकाले उपलब्ध हुनासाथ छर्कने कामलाई निरन्तरता दिने स्थानीय प्रशासनको तयारी छ। जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि गाउँपालिकाका बजार क्षेत्रमा कीटनाशक औषधि छर्केको गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.