संघ संस्थालाई समन्वय गर्न आग्रह

|
फाइल फोटो

काठमाडौं :  महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको भन्दै त्यसलाई जिम्मेवार ढंगले सबैलाई पूरा गर्न आग्रह गरेका छन्। काठमाडौं महानगरवासीमा एक विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेको हुन्।

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग गरिदिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एक पटक हार्दिक अपिल गर्दछु,’ प्रमुख शाक्यले विज्ञप्तिमा भनेका छन्, ‘माहामारीका रूपमा

विश्वभरि फैलिँदै गइरहेको कोभिड-१९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेका छन्। अत्यावश्यक कामबाहेक बाहिर ननिस्किदिनु हुन अनुरोध छ।’

उनले अमेरिकालगायत युरोपका केही ठूला र विकसित देशहरूमा अहिले महामारीका रूपमा संक्रमण फैलिनुको एक मात्र कारण ‘लकडाउन’ को वेवास्ता गर्नु रहेको पनि उल्लेख गरे। यस्तो अवस्थामा आम नेपाली अझ बढी सचेत र सतर्क हुनु आवश्यक रहनुपर्ने उनको भनाइ छ।

राहतका लागि तथ्‍यांक संकलन

लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्न लगत संकलनको काम भइरहेको उनको दाबी छ।  

‘नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरूलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसको लागि स्थानीय निकायले लगत संकलन कार्य अघि बढाइएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कामपा कोरोना भाइरस (कोभिड – १९) सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

 अभिभावक नभएका, आयस्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण भइरहेको छ। ‘३२ वडाका जनप्रतिनिधि खटेर राहत वितरण गरिरहेका छन्।'

नगर प्रमुख शाक्‍यले भनेका छन्, 'महानगरपालिकाले उपलब्ध गराउने राहत असाहय, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्दै आएका कामदार तथा मजदुरले मात्रै लिइदिनुहोला।' राहत सामग्री वितरण गर्दा पटक्कै भिडभाड नगरी शान्त एवं सभ्य तरिकाले ग्रहण र वितरण गर्न भनिएको छ।

संघ संस्थालाई समन्वय गर्न आग्रह

महानगरभित्र सक्रिय संघ, संस्था, क्लब, गुठी आदि जस्ता निकायहरूले आफ्नै स्रोतबाट राहतजन्य कुनै कार्य गर्न लागेको भए महानगरपालिकासँग समन्वय गर्न पनि भनिएको छ।

‘लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न टोल फ्री नं. ११८०, महानगर प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.