अरुलाई पनि सहयोग गर्न आग्रह

|

काठमाडौ : यतिबेला कोरोना भाइरस (कोभिड१९) ले विश्व तरंगित छ। कोरोनाबाट नेपाल पनि अछुतो रहन सकेको छैन। सरकारले दोस्रो चरणको लकडाउन गरेको छ। जुन चैत २५ सम्म लागू हुनेछ।

कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले प्रधानमन्त्री राहत कोष स्थापना गरेको छ। जहाँ विभिन्न पेशा र व्यवसायमा आबद्द रहेका व्यक्तिले सहयोग गरिरहेका छन्। राहत कोषमा नेपाली कलाकारले पनि आफ्नो क्षमताअनुसार सहयोगी हात अगाडि बढाएका हुन्। तिनैमध्ये एक हुन लोक दोहोरी क्षेत्रका चर्चित गायक प्रकाश सपूत।

प्रधानमन्त्री केपी शर्मालाई लामो लेख लेख्दै आफूले यो विपदको घडीमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। प्रकाशले सरकारसम्म पुर्‍याइदिन भन्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिसकेका छन्।

यो महामारीबाट सुरक्षित रहन र सरकारलाई सहयोग गर्न नेपाली चलचित्रकी नायिका वर्षा शिवाकोटिले कोरोनाविरुद्द लड्न सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख सहयोग गर्ने घोषणा गरेकी छिन्।

लकडाउनको छैटौँ दिन उनले यो घोषाणा गरेकी थिइन्। उनले सानो भिडियो सार्वजनिक गर्दै भनेकी छिन्, 'यो निकै सानो रकम हो। तर सरकारले कोरोना विरुद्द अभियानमा चालेको यो अभियानले हरेक नेपाली जनता सुरक्षित हुन सक्छन भन्ने सोचका साथ सहयोगीको सानो हिस्सा बन्ने कोसिस गरेकी हुँ।'

सरकारले जारी गरेको लकडाउनले नेपालीलाई असर परिरहेको भन्दै उनले विशेष गरेर मजदुरी गरेर जिवीकोपार्जन गर्ने व्यक्तिको दिनचर्या भने निकै कष्टकर बनेको बताएकी छिन्।

सरकारले उनीहरूलाई छिटो राहत वितरण गरेर नागरिकको जीवन रक्षा गर्न आह्‍वान पनि गरेकी छिन्। उनले सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्, 'कोरोना संक्रमणबाट संक्रमित व्‍यक्तिहरूलाई बचाउन डाक्टर, नर्स तथा मेडिकल क्षेत्रका व्यक्तिलाई पनि धन्यवाद भन्‍न चाहन्छु।'

यस्तै, नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायक बद्री पंगेनीले पनि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा ५० हजार रुपैयाँ रकम सहयोग गरेका छन्।

मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड-१९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा योगदान गरेको उनले जानकारी दिए।

निर्माता एवं संगीतरकार अर्जुन कुमारले प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग गर्ने घोषणा गर्ने भएका छन्। उनले सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री राहत कोषमा ५० हजार दिने बताएका हुन्। उनले यो रकम लकडाउन सकिनासाथ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री राहत कोषमा म ५० हजार सहयोग गर्छु आउनुहोस् तपाईंहरू पनि जति सक्‍नुहुन्छ सहयोग गर्नुस्। तर कुनै पनि सामाजिक अभियन्ताको हातमा नदिनुस् है।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.