|

म्याग्दी : म्याग्दी जिल्लाको बेनी नगरपालिका ६ बास्बोटमा देवीप्रसाद शर्मा विहानैदेखि व्यस्त हुन्छन्। कोरोना (कोभिड-१९) को महामारीसँग विश्वका सयौं मुलुकहरू जुधिरहेको अवस्थामा नेपालमा पनि केही संक्रमित देखिएका छन्। विश्वविद्यालयका परीक्षाहरू र माध्यमिक शिक्षा परीक्षा समेत स्थगित भएपनि शर्मा विहानैदेखि आफ्नै शिक्षण पेशाका साथीसँग घण्टौ तालिममा जोडिन्छन्। 

शर्मासँगै देशभरका करिब एकसय शिक्षकले लकडाउनको समयलाई घरकै कोठाभित्र बसेर सदुपयोग गरिरहेका छन्। प्रविधिमैत्री शिक्षक समाज, नेपालको केन्द्रीय प्राविधिक समितिको आयोजनामा चैत्र १४ गतेदेखि अनलाइन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेपछि देशभरका शिक्षकले लकडाउनमा भिडियो कन्फेरेन्सबाट तालिम लिइरहेका हुन्को‌। शिक्षकलाई प्रविधिमैत्री तुल्याई कक्षाकोठामा प्रविधिको पहुँच विस्तार गर्ने तालिममा सहभागी भएको केन्द्रीय महासचिव शर्माले बताए।

‘हामीले लकडाउनको समयलाई शैक्षिक बहसमा बिताएका छौं, प्राविधिक पेशागत विकासमा अभिवृद्धिमा सघाइरहेका छौं,’ शर्माले भने। उनले इन्टरनेटको पहुँचमा रहेका शिक्षकलाई विभिन्न किसिमका ज्ञान आदान-प्रदान गर्ने गरेको बताए। 

‘फर द टिचर, बाइ द टिचर’ सिद्धान्तमा आधारित रहेर तालिम सञ्चालन भइरहेकाे छ। यस प्रकारको तालिमले शिक्षकबाट विद्यालय तथा कक्षाकोठाको शिक्षण सिकाइ प्रविधियुक्त हुने र विद्यार्थीको सिकाइमा टेवा पुग्ने विश्वास लिइएको केन्द्रीय अध्यक्ष भूपति बस्यालले बताए। बस्यालले भने, ‘सिकेको सीपलाई देशभर पुर्‍याउन लकडाउनको समयले साथ दिएको छ, घरमा बस्दा कोरोना संक्रमणको जोखिम पनि हुँदैन, धेरै ज्ञान पनि सिकिन्छ।’ दैनिक दुई चरणमा तालिम सञ्चालनको तयारी भइरहेको र ७७ वटै जिल्लाका शिक्षकलाई जोड्ने योजना रहेको उनले जानकारी दिए।

प्रविधिको प्रयोग गरी शिक्षकलाई आवश्यक पर्ने शिक्षण सिकाइ सामग्री निर्माणका लागि आवश्यक टुल्स, अनलाइन टिचिङ, इमेल–इन्टरनेटको उपयोग, विद्यार्थी मूल्यांकनका लागि आवश्यक साधन निर्माण, वेव पेज डिजाइनिङ, हार्डवेयर, नेटवर्किङ, अफिस प्याकेज, अडियो भिडियो इडिटिङ, एडोब, मोबाइल टिचिङ तथा विभिन्न सिकाइ सफ्टवेयरको प्रयोगलगायत विषयगत शिक्षण सिकाइका लागि आवश्यक पर्ने विभिन्न विषयवस्तु तालिम प्याकेजमा समावेश गरिएको प्राविधिक समितिका संयोजक घनश्याम अधिकारीले बताएका छन्। 

तालिमलाई केन्द्रीय प्राविधिक समितिका शिक्षकले नै सहजीकरण गरिरहेको पनि उनले बताए। केन्द्रीय प्रशिक्षकहरू तयार गरेपछि विस्तारै प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पनि यस प्रकारका तालिमहरू सञ्चालन गरी सबै आधुनिक सूचना तथा सञ्चार प्रविधिमा शिक्षकलाई सक्षम तुल्याउने समाजले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.