|

हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडामा आजबाट कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण परीक्षण हुने भएको छ  । हेटौंडामा उपकरण भए पनि वर्षौंदेखि उपयोगविहीन थियो। 
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उपकरणलाई प्रयोगमा ल्याइने भएको हो। तालिम केन्द्रमा कोरोनालगायत अन्य भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिने मेसिन रहेको छ। 

भाइरस ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पिसिआर) स्थापना गरिएको थियो। किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको उक्त मेसिन सञ्‍चालनका लागि माइक्रोबायोलोजिस्ट आवश्यक पर्ने भए पनि दरबन्दी नहुँदा अलपत्र परेको थियो।

संघीय सरकारले प्रयोगशालाविज्ञ विष्णु उपाध्याय र निर्मल आचार्यलाई बागमती प्रदेशको राजधानी हेटौंडामा खटाएको छ। उपकरण सञ्‍चालनका लागि केमिकल, किट, पिपिई (प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट) र विज्ञहरु हेटौंडा आई उपकरण सञ्‍चालनका लागि तयारी अवस्थामा ल्याएका हुन्।

एक पटकमा ६० वटा नमुना परीक्षण

उक्त ल्याब सञ्‍चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो। ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ। परीक्षण थालिएको साढे दुई घण्टाजतिमा नतिजा प्राप्त हुन्छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शतिश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ। मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ।

स्वाब कुर्दै

कोरोना परीक्षण गर्न तयार भएता पनि हालसम्म कुनै पनि परीक्षणको लागि केस नआएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार स्वाथ्यकर्मी र उपकरणसहित प्रयोगशाला तयारी अवस्थामा राखिए पनि स्वाब परीक्षणका लागि हालसम्म केस आएको छैन। कोरोना भाइरस संक्रमितको उपचारका लागि भन्दै हेटौंडामा निर्माण गरिएको कोरोना आइसोलेसन वार्ड कर्रामा रहेका चार जना हेटौंडा एकेडेमीको क्‍वारेन्टाइनमा रहेका २ जनालाई डिस्चार्ज गरिएको छ। 

वार्डका संयोजक भोलाप्रसाद चौलागाईंका अनुसार बिहीबार दिउँसोसम्म श्रमिक माविमा रहेको आइसोलेनमा वार्डमा एक र एकेडेमीमा रहेको क्‍वारेन्टाइनमा दुई जना भर्ना भएका छन्। उनले मकवानपुरको पाँच जनाको कोरोना परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.