काठमाडौं पठाइने दूध रोकिए, सवारी पास बन्द, तरकारी किनबेल बिहान-बेलुका मात्र

|

हेटौंडा : जारी लक डाउनका कारण मकवानपुरमा दैनिक करिब १५ हजार लिटरभन्दा बढी दूध किसानको घरमै रोकिएको छ। मकवानपुरका करिब ८ हजार किसानका गोठबाट दैनिक ३५ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले बताए। 

उनका अनुसार लक डाउनका कारण विशेषगरी काठमाडौं निर्यात हुने मात्रा घटेको छ। दूधको निर्यात घटेसँगै सहकारीले दिन बिराएर किसानसँग दूध संकलन गरिरहेको दाहालले बताए। काठमाडौंका ७ वटा उद्योगले दैनिक २० हजार लिटर दूध मकवानपुरबाट लैजाने गरेकोमा अहिले ३ वटा उद्योगले दैनिक १० हजारको हाराहारी दूध लैजाने गरेको छ।

यस्तै मकवानपुरका किसानसँग संकलन गरिएको दूध सहकारी संघमार्फत हेटौंडा औद्योगिक क्षेत्रस्थित दुग्ध वितरण आयोजनाले ५ हजार ५ सय लिटर, हेटौंडा–१९, नेवारपानीस्थित हेटौंडा डेरी इन्डस्ट्रिजले दैनिक सात हजार लिटर दूध खरिद गरिरहेको दाहालले बताए। जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध नभएका तर व्यावसायिक पशुपालन गर्ने, सीधै बजारका मिठाई पसलमा दूध विक्री गर्ने किसान पनि प्रत्यक्ष मर्कामा परेका छन्।

पास बन्द 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास बन्द गरेको छ। यसअघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गरेको थियो। तर पासको दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमान्ड पोस्टको बैठकले यस्तो व्यवस्था गरेको हो। अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी मात्रै नियमित सञ्चालनमा आउने भएका छन्। त्यसबाहेक अन्य क्षेत्रलाई उपलब्ध गराउँदै आएको पास बन्द भएको छ।

उपभोक्तालाई निश्‍चित समय

बुधबारबाट लकडाउन अवधिभर दैनिक तरकारी किन्न हेटौंडा बजार जाने र नजिकैको तरकारी पसल जाने उपभोक्ताले तरकारी किन्दा समयको ख्याल गर्नुपर्ने भएको छ। मकवानपुर प्रशासनले बिहान–बेलुका तरकारी बिक्री वितरण र किन्नमा रोक लगाएसँगै अब हेटौंडाका उपभोक्ताले तरकारी किन्न बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममात्र जाने पाउने भएका छन्। 

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र तरकारी पसल खुला हुने भएको छ। त्यसैगरी खाद्यान्न किन्नको लागि पनि प्रशासन कार्यालयले त्यही समय तोकेको छ। बिहान र साँझ तरकारी किन्न निस्किएमा उपभोक्ता रित्तो हात फर्कनु पर्नेछ भने अटेर गरेमा प्रहरीले नियन्त्रणमा लिने छ। 

कमान्ड पोस्ट बैठकले हेटौंडामा बिहान र साँझ खुल्दै आएका खाद्यान्न, दुग्ध तथा तरकारी पसलहरु अब दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको नेपालले जनाए। ‘किनमेलको बहानामा बजारमा बिहान र साँझपख भिडभाड हुन थालेपछि यस्तो व्यवस्था गरिए हो, अन्य समयमा ती पसल खोले कारबाही गर्छौं’, प्रजिअ नेपालले भने।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.