भारतीय क्‍वारेन्टाइनमा बस्‍न मानेनन्

|
सिमानामा नाराबाजी गर्दै नेपाली। तस्बिर : थाहाखबर

बाँके : नेपाली र भारतीय सुरक्षाकर्मीले जबरजस्ती भारतीय क्‍वारेन्टाइनमा लैजान प्रयास गरेपछि भारतबाट नेपाल आउँदै गरेका नेपालीले नेपालगन्ज नाकामा सरकार विरुद्ध नाराबाजी गरेका छन्। 

उनीहरुले नेपाली भूमिमा आइसकेकोले फर्केर कुनै पनि हालतमा भारतीय क्‍वारेन्टाइनमा नजाने अडान लिएर नेपालगन्ज नाकामा बुधवार बेलुकादेखि धर्ना दिए। 

भारतीय प्रहरीले जवरजस्ती उठाएर नेपाल-भारत सीमामा पुर्‍याएको बताउँदै एक सय ८१ जना नेपालीले नेपालका सरकार प्रमुखविरुद्ध चर्को नाराबाजी गरे। सीमा नाकामा २५ जिल्लाका सर्वसाधारण छन्। 

बल्लतल्ल भारतबाट नेपाली भूमिमा आइपुगेको बताउँदै उनीहरुले भारतीय क्‍वारेन्टाइनमा बस्न अस्वीकार गरेका छन्। आफ्नो देशको क्‍वारेन्टाइनमा बस्न पाउनुपर्ने माग गर्दै उनीहरुले राज्यले भारत र अन्य पश्चिमा मुलुकमा बस्‍ने नेपाली वीच विभेद गरेको आरोप लगाए। 

एउटा त्रिपालमा चारजनाका दरले एक सय ८१ जनालाई जमुनहा नजिक निर्माणाधिन एकीकृत चेक पोष्ट (आइसीपी) को मैदानमा राखिएको छ। 

भारतीय क्‍वारेन्टाइनमा जाँदै नजाने अडान लिएपछि सुरक्षाकर्मीको केहि सीप चलेन। 

सरकारले भारतबाट आउने नेपालीलाई नेपाल प्रवेश गर्न नदिने निर्णय गरेपछि उनीहरु चार दिनदेखि दशगजामा अलपत्र परेका छन्। ‘बरु हामीलाई खान नदिनुस्, तर हामीलाई आफ्नै देशमा बस्न दिनुस्,’ मधुवन नगरपालिका-४, ढोढरीका दीपक बुढाले भने।

भारतबाट आएका नेपालीलाई राखिएको ठाउँमा विजुली बत्ती, खानेपानी, शौचालय केही पनि छैन। पिसावका लागि अस्थायी शौचालय निर्माण भए पनि दिसाका लागि समस्या हुने भएको छ। 

एक रात त्यही ठाउँमा बस्दा पिउने पानीको समस्या झेलेका उनीहरुले अब शौच गर्ने समस्या पनि भोग्नुपर्ने देखिएको छ। शौचका लागि शौचालय, पानी नभएको सुनिल स्मृति गाउँपालिका-५, रोल्पाका दीपेश बुढाले भने।  

भारतबाट फर्किदै गरेका नेपालीलाई मनाउन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरी बल, ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी गणका गणपति दीपक अधिकारी, नेपाली सेना इमामनगर ब्यारेकका गणपति नहकुल थापा लगायत सुरक्षाकर्मीको आग्रहलाई समेत उनीहरुले बेवास्ता गरे। 

भारतबाट आएका नेपालीले भारतीय क्‍वारेन्टाइनमा जान नमानेपछि क्‍वारेन्टाइनका लागि दशगजामा निर्माणाधिन आइसीपीको मैदानमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।

दुवै देशका सुरक्षाकर्मीले गरेको आग्रहलाई नेपालीले नमानेको बताउँदै उनले बाध्य भएर दशगजास्थित आइसीपीको मैदानमा राखेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.