प्रयोगशाला जाँच सेवा बिहीबार साँझदेखि सुरु

|

डडेल्धुरा : सुदूरपश्‍चिम प्रदेशमा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट नमुना परीक्षण सुरु गरिएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट कोभिड १९ को प्रयोगशाला जाँच सेवा बिहीबार साँझदेखि सुरु भएको हो।

बुधबार साँझ प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीले बाँकी रहेका काम सकेर बिहीबारदेखि नै नमुना परीक्षण कार्य सुरु गरेको हो। अस्पतालमा कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण आरटी पिसिआर जडान कार्य पूरा भएसँगै साझदेखि परीक्षण सुरु भएको हो । स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्‍चिम प्रदेशका लागि आएका मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखकसहितको टोलीले अस्पतालमा स्थापना गरेको प्रयोगशालामा कोरोनाका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाबको नमुना परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ। 

अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले बिहीबारबाट कोभिड १९ को प्रयोगशाला जाँच सुरु भएको बताए। संघीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परिक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार धनगढी ल्याइएको थियो।

बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेकोमा काम सम्पन्न भई परीक्षण सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। यसअघि सुदूरपश्‍चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद व्यक्तिहरूको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइँदै आएको थियो। 

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिला हुने गरेको थियो। अब जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिपाेर्ट आउने ल्याब इन्चार्ज शाहीले बताए। यसअघि संकलन गरिएको नमुना काठमाडौं पठाउँदा रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेकोमा अब सेती प्रादेशिक अस्पतालबाटै उक्त सेवा लिन सकिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.