आफ्नोभन्दा घरपालुवा जनावरको माया!
आफ्नोभन्दा घरपालुवा जनावरको माया!
काठमाडौं : दिनहुँ बिहानै हरियो घाँस काट्न जानु गोकर्ण नाम्गेलकी मुना पण्डितको दैनिकी हो। उनले एउटा दुहुनो गाई पालेकी छिन्। हरियो घाँस दिन सके गाईले धेरै दूध दिन्छ भन्ने उनलाई विश्वास छ।
विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) फैलिएपछि रोकथामका लागि सरकारले लकडाउन गरेको छ। सरकारले अत्यावश्यक कामबाहेक कोही सर्वसाधारण घरबाट बाहिर ननिस्कन बारम्बार आग्रह गर्दै आएको छ। तर, लकडाउनले पण्डितलाई घरभित्रै बस्न दिँदैन। गाईलाई भर्खरै पलाएका हरियो घाँस नखुवाई राख्न उनको मनले मान्दैन।
उनी दैनिक बिहानै खेतमा हरियो घाँस काट्न जान्छिन्। बिहीबार पनि पण्डित नाम्गेलको खेतमा मास्कबिनै घाँस काट्दै थिइन्। ‘सरकारले लकडाउन गरेर के गर्नु,’ उनले हास्दै भन्छिन्,‘मान्छे त जसोतसो खाना खान्छौँ। दुहुनु गाईलाई घाँस काट्न त बाहिर जानैपर्छ।’
उनका अनुसार घरनजिकैका साथी दुईजना छन्। बिहान चिया खाइसकेपछि साथीसाथी मिलेर बिहान घाम नझुल्किदै घाँस खोज्दै अरूको खेतखेतमा पुग्छन्। गाउँमा जस्तै काठमाडौंमा सजिलै गाई पाल्न नसकिने उनको अनुभव छ। घाँस काटेर कुम्लोमा हाल्दै उनले भनिन्,‘आफ्नो प्रशस्त खेत नभएकाले अरूको खेतधनीलाई घाँस मागेर काट्नुपर्छ। बिहान काटेको घाँसले दिनभरीलाई पुग्छ। फेरि भोलि त यसरी नै घाँस काट्न जानुपर्छ।’
पशु चौपायाले लकडाउन बुझ्दैन
अर्का नाम्गेलका रीता तामाङले पनि अहिले बाख्रा पाल्दै आएकी छिन्। त्यसैले उनी पनि दैनिक बाहिर घाँस काट्न जाने गर्छिन्। उनी पनि लकडाउनमा घरभित्रै बस्न नपाइने बताउँछिन्। ‘काम नभए त घरभित्रै बस्नुपर्थ्यो,’उनले घाँस काट्दै भनिन्,‘स्वास्थ्यको माया सबैलाई हुन्छ। तर, के गर्नु पशु चौपायाले लकडाउन बुझ्दैन खान नपाए बाख्रा कराएर बस्न दिँदैन।’
बिहान मात्र काटेको घाँसले दिनभरीलाई नपुग्ने उनले बताइन्। उनले भनिन्, ‘म एक्लै बिहान–बिहान हरियो घाँस काट्न जान्छु। एक बोरा घाँस वा एक भारी घाँसले दिनभरीलाई पुग्दैन। त्यसैले दिउँसो खाली चौरतिर चराउन बाख्रा लैजान्छु।’
उनले बाहिर पनि पर्याप्त हरियो घाँस नहुँदा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको सुनाइन्। घाँस काट्नुको पीडा सुनाउँदै उनी थप्छिन्,‘घाँस काट्ने म मात्र होइन घरनजिकै घाँस पाइँदैन। खोज्दै हिँड्नुपर्छ। कहिले आदि बोरा मात्रै घाँस लिएर आउँछु।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।