विद्युत् निकासी सबैभन्दा चुनौतीपूर्ण

|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा गरेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले सुनौला दिन आउन बाँकी रहेको बताएका छन्।

कुनै बेला देशमा १८ घण्टा लोडसेडिङ र अर्बौँ घाटामा रहेको प्राधिकरण कुलमानले सम्हालेदेखि प्राधिकरण लगातार नाफाको बाटोमा छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो नाफा गर्न सकेपछि घिसिङले अझै धेरै काम गर्न बाँकी रहेको बताएका हुन्। 

‘प्राधिकरणको अबको यात्रा घाटाको होइन, नाफाको हो भन्ने अठोटका साथ सम्पूर्ण टिम अहोरात्र खटिएको छ’, उनले भनेका छन्, ‘यसमा प्रधानमन्त्रीको निर्देशन तथा ऊर्जामन्त्रीको नेतृत्व, संचालक समिति तथा प्रशासनको साथ, प्राविधिकको दक्षता, कर्मचारीको मेहनत, आमउपभोक्ताको साथ र सहयोग पाएका छौं।’

उनले त्यहीकारण आफूहरुलाई काम गर्ने हौसला र ढाडस मिलेको उनले बताए। ‘प्राधिकरणलाई नाफासहितको अनुशासित, सम्मानित, सबल संस्था बनाउने यात्रामै छौँ’, उनले थपे, ‘विद्युत् सेवाको उपलब्धता विस्तार गर्ने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने स्पष्ट दृष्टिकोण एवं योजनाका साथअघि बढिरहेका छौं।’

उनले प्राधिकरणका आगामी दिन अझै सुनौला रहेको बताएका छन्। ‘अमेरिकी डलरमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएको ६० मेगावाट खिम्ती–१ विद्युत आयोजनाको आधा स्वामित्व प्राधिकरणमा आउँदैछ’, घिसिङले थपे, ‘पीपीए दर पनि नयाँ तय हुने भएकाले प्राधिकरणलाई ठूलो राहत मिल्छ, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युतआयोजनाको पीपीए दर सस्तो भएकाले यसबाट प्राधिकरणको वित्तीय स्वास्थ्यमा ठूलो सकारात्मक प्रभाव पर्छ तर यसका लागि मुलुकभित्र विद्युत् खपत बढाउन र बढी भएको विद्युत् निकासीको बन्दोबस्ती गर्नु भने चुनौतीपूर्ण छ।’ 

संस्थालाई डिजिटल प्रणालीमा अभ्यस्त गराउन लागिएको जानकारी दिंदै उनले त्यसपछि पछि संचालन खर्चमा ठूलो मात्रामा कमी आउने जानकारी दिए। यसको प्रभाव संस्थाको वित्तीय स्वास्थ्यमा पर्ने जानकारी उनले दिए।

विद्युत् चुहावट घट्दा यसको सकारात्मक प्रभाव प्राधिकरणको विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा परेको छ। प्राधिकरणले आव २०७५/७६मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ।

घिसिङका अनुसार आ.व. २०७२/७३मा विद्युत् चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले घटाएर १५.३२ प्रतिशतमा झारिएको छ। एक प्रतिशत विद्युत चुहावट घटाउँदा करिब ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुन्छ।

आ.व. २०७४/७५मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ थियो। विद्युत् खरिदमा ३४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो। प्राधिकरणले विद्युत आयोजनाको १ अर्ब ५० करोड १७ लाख रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.