|

दाङ : दाङको घोराहीमा लकडाउनको समयमा खाद्यवस्तु अभाव हुन नदिन घरघरमा आपूर्ति व्यवस्था मिलाइएको छ। यसअघि घोराही उपमहानगरपालिकाले उपभोक्तालाई  खाद्यवस्तु खरिदका लागि दैनिक ३ घण्टा समय छुट्टयाएको थियो। सो समयमा भिडभाड बढी हुने र कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै घरघरमा सामान पु¥याउने व्यवस्था गरिएको र बजार २४ सै घण्टा लकडाउन गरिएको छ।

उपमहानगरको मुख्य बजारक्षेत्र वडा नम्बर १४ र १५ मा सोमबार राति १२ बजेदेखि लागु हुने गरी पूर्ण लकडाउन गरिएको छ। प्रमुख जिल्ला अधिकारी ,उद्योग वाणिज्य संघलगायतको छलफल गरेर यस्तो निर्णय गरिएको विपद व्यवस्थापन समितिका संयोजक तथा वडा १४ का अध्यक्ष शक्तिराम डाँगीले बताए।

उद्योग वाणिज्य संघले खाद्यान्‍नका लागि ५ वटा गाडी, तरकारीका ५ फलफूलको ५, माछा मासुका लागि ३ र ग्यासका लागि १ वटा गाडी व्यवस्थापन गरेको छ।उपभोक्तको घरसम्म खाद्यान्‍न तरकारीलगायत सामान आपूर्ति गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघलाई जिम्मा दिइएको छ। जिल्ला उद्योग वाणिज्य संघले विभिन्‍न उपसमिति गठन गरेर काम गरिरहेको छ।  

यसैबीच औषधि पसल, पेट्रोलपम्प, बैँक तथा वित्तीय संस्था भने खुला रहनेछन्। कोरोना भाइरसको जोखिम र यसप्रति सजग र सचेत बन्‍न स्थानीय प्रशासन, नागरिक समाज लगायतले आग्रह गरेका छन्। लकडाउन उल्लंघन हुन नदिन चोक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.