|

बारा : कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम गर्न बाराका विभिन्न स्थानीत तहले ‘डिस्इन्फेक्सन स्प्रे’ सुरु गरेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र निजगढ नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका लागि डिस्इन्फेक्सन स्प्रे अभियान थालेका हुन्।

नगरको १३ वटै वडाका सार्वजनिक क्षेत्रमा डिस्इन्फेक्सन स्प्रे सुरु गरिएको निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिइन्। नगरको पूर्वपश्चिम राजमार्गबाट सुरु गरेर वडाका सार्वजनिक सडकको दुर्वतर्फ स्प्रे गर्न सुरु गरिएको हो।

महामारी र संक्रमण रोक्न नगरभरि डिस्इन्फेक्सन स्प्रे सुरु गरिएको जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए।

मोटरसाइकल धुने गन प्रयोग

निजगढ नगरपालिकाले डिस्इन्फेक्सन स्प्रेका लागि तीनवटा ट्रयाक्टर र एउटा ट्रिपर प्रयोग गरिरहेको छ। नगरको सवारी साधनमा प्लास्टिकको टयाङ्कीमा मोटरसाइकल धुने गन फिटिङ गरेर स्प्रे गरिएको जनाएको छ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरले तीनवटा दमकल प्रयोग गरेर नगरमा डिस्इन्फेक्सन स्प्रे थालेको छ भने कलैया उपमहानगरले पनि दमकलको माध्यमबाट सुरु गरेका हुन्।

जनप्रतिनिधि आफैं सडकमा

कोरोना संक्रमणको सम्भावित जोखिम कम गर्न बाराका भीडभाड हुने विभिन्न स्थानमा डिस्इन्फेक्सन स्प्रे गर्न जनप्रतिनिधि आफैं सडकमा उत्रिने गरेका छन्।

जीतपुरबजारमा जीतपुरसिमराका प्रमुख डा. पौडेल र निजगढमा उपप्रमुख लामिछाने, वडाध्यक्ष रामजी बजगाई, टेकबहादुर लामा, सुदर्शन बडालले डिस्इन्फेक्सन स्प्रे गरेका थिए।

कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवका अनुसार कोरोना भाइरसको संक्रमणलाई उपमहानगर क्षेत्रभित्र फैलिन नदिन सो अभियान थालिएको हो।

डिस्इन्फेक्सन के हो ?

डिस्इन्फेक्सनको काम ब्याक्टेरिया मार्ने हो। कोरोना भाइरसजस्ता विशाणुलाई नष्ट गर्न डिस्इन्फेक्सन चाहिन्छ।

मानिस, पशुपंक्षी नभएको ठाउँमा छर्कने प्रकृयालाई डिस्इन्फेक्सन भनिने कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवनका उपप्रध्यापक डा. अनन्त दाहालले बताए। ‘डिस्इन्फेक्सनले भाइरसको शरीरमा कभर हुन्छ,’ डा. दाहालले भने ‘कभरलाई नष्ट गरिदिएपछि आक्रमण गरेर रोग सार्न सक्ने क्षमता गुमाउँछ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.