|

म्याग्दीका एक जनप्रतिनिधिले व्यक्तिगतरुपमा ४ लाख रुपैयाँको खाद्यान्न र मासिक रुपमा घरभाडाबापत आउने २ लाख ५१ हजार रुपैयाँ छुट दिएका छन्।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले लकडाउनका कारण मजदुरी नपाएपछि समस्यामा परेका गाउँपालिकाभित्रका गरिब र मजदुरहरुलाई ४ लाख बराबरको खाद्यान्न वितरण गरेका छन्। त्यस्तै, विभिन्न ठाउँमा रहेका ५ वटा घरबाट भाडास्वरुप आउने २ लाख ५१ हजार रुपैयाँसमेत व्यापार व्यवसाय गरेर बस्नेहरुलाई छुट दिएका हुन्।

अध्यक्ष भण्डारीले गाउँपालिकाभित्रका आठवटै वडाका गरिब र मजदुरहरूलाई आज (शनिबार)देखि खाद्यान्न वितरण शुरु गरेको जानकारी दिए।

शनिबार रघुगंगा गाउँपालिका-१ बेगका २८ जना गरिब र मजदुरहरूलाई २८ बोरा चामल,२८ लिटर खानेतेल,२८ किलो नुन र ७५ किलो दाल वितरण गरे। त्यसैगरी वडा नं ४ दग्नाममा २५ बोरा चामल,७५ किलो दाल,२५ लिटर खानेतेल र २५ किलो नुन वितरण गरेको स्थानीय दलबहादुर गर्वुजाले जानकारी दिए।

त्यस्तै गाउँपालिकाको वडा नं ५ झीँमा २५ बोरा चामल,२५ लिटर खाने तेल,२५ केजी नुन र ७५ केजी दाल तथा वडा नं ६ पाखापानीमा ३० बोरा चामल,३० लिटर खाने तेल,३० केजी नुन र ७५ केजी दाल वितरण गरेको वितरण टोलीका सदस्य  केवि भण्डारीले बताए।

पाँच घरको घरभाडा छुट

त्यसैगरी अध्यक्ष भण्डारीको म्याग्दी सदरमुकाम बेनीमा रहेका २, पर्वतको जलजला गाउँपालिकाको बगरफाँटमा रहेका २ र काठमाण्डौमा रहेको १ घरमा व्यापार व्‍यवसाय गर्दै आएका र कोठा भाडामा बस्दै आएकाहरूलाई एक महिनाको भाडा छुट दिएका छन्।

भाडामा बस्नेहरूलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।   ‘लकडाउनले व्यापार व्‍यवसाय बन्द भएर कोठामा बसेकाहरू पनि थप समस्यामा परेका छन्, यस्तो अबस्थामा भाडा लिनु न्यायोचित नहुने देखेर भाडा मिनाहा गरेको हुँ' अध्यक्ष भण्डारीले भने। 

क्वारेन्टाइनमा बसेकालाई सम्मान

अध्यक्ष भण्डारीले गाउँपालिकाभित्र  खाद्यान्न सहयोग कार्यक्रमसँगै क्वारेन्टाइनमा बसेर कोरोना सहयोग गरेकोमा चारवटा वडाका १८ जनालाई प्रशंसापत्रले सम्मानसमेत गरे।

‘कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र चैत १ गतेयता विदेशबाट आएकाहरू अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियमलाई पालना गरी सरकारलाई सघाएका व्यक्तिहरूलाई सम्मान गरिएको हो’ अध्यक्ष भण्डारीले भने।

आर्थिक कारोबार ठप्प

रघुगंगा गाउँपालिकाले कोरोना नियन्त्रण र रोकथामको लागि ३० लाख बजेटसमेत विनियोजन गरेको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि आर्थिक कारोबारमा समस्या भएकाले प्रजिअ र संघीय मामिला मन्त्रालयमा ध्यानाकर्षण गराएको अध्यक्ष भण्डारीले बताए।

प्रमुख प्रशासकिय अधिकृतको अभावमा गण्डकी प्रदेश सरकार र जिल्ला समन्वय समितिले पठाएको राहत रकमलाई परिचालन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ।

घरघर पुगेर हातधुन सिकाउँदै वडा अध्यक्ष

यस्तै, यहाँको त्रिपुरासुन्दरी नगरपालिकाका एक वडा अध्यक्ष प्रत्येक घरमा पुगेर कोरोना भाइरस(कोभिड–१९)का बारेमा जनचेतना फैलाउन थालेका छन्।

३ नम्बरका वडा अध्यक्ष जनक केसीले कोरोना भाइरसले सानो, ठूलो, नेता, गरिब कोही पनि नभन्ने भएकाले आफ्नो वडामा पूर्व-सतर्कता अपनाउन जनचेतना फैलाउन जुटेको अध्यक्ष केसीले बताए।

गाउँतिर मान्छेहरू कुरै नबुझेर त्यसै त्रसित भएको बताउँदै भ्रम चिर्न र सजगता अपनाउन स्वास्थ्यकर्मीसहित जनचेतना जुटेको उनको भनाइ छ।

उनले सुँ र जीँउ गाउँका २५७ घरधुरीलाई दुईवटा दरले साबुन वितरण गरेर हातधुन सिकाइएको पनि बताए। जिल्ला बाहिरबाट डोल्पा भित्रिएकालाई राख्‍नका लागि गाउँमै चार वेडको क्वारेन्टाइनसमेत तयार पारिएको छ।

घरघरमै सामग्री

यस्तै, धनकुटामा स्थानीय युवाले दैनिक उपभोग्य सामग्रीसहित तरकारी तथा दुग्ध उपभोक्ताको घर घरमै पुर्‍याउने व्‍यवस्था मिलाएका छन्।

 धनकुटा नगरपालिका-१ हिले बजारका स्थानीय युवाले यस्तो व्‍यवस्था मिलाएका हुन्। बजार पसलमा हुने भिडभाडलाइ मध्यनजर गर्दै भिडभाड कम गराउन सहयोग गर्ने उद्देश्‍यले दैनिक दैनिक उपभोग्‍य सामग्री उपलब्ध गराउने व्‍यवस्था मिलाइएको सिर्जनशील सांस्कृतिक समूहका अध्यक्ष भुपेन थिङले बताए।

यसरी वितरण सुरु गरेपछि दैनिक उपभोग्य सामग्री, तरकारी तथा बिहान दुग्ध खरिद गर्ने समयको भिडभाडमा कमी भएको स्थानीय गौरव कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.