ज्येष्‍ठ नागरिकलाई सुरक्षित रहन आग्रह, कुकुरलाई मासुभात खुवाइयाे

|
आफूले पाएकाे राहतवापतकाे खाद्यान्‍न लैजाने तयारी गर्दै एक महिला

दाङ : लकडाउनका कारण विचल्लीमा परेका नगरबासीलाई तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण गरेको छ। उपमहानगरका विभिन्न वडामा झण्डै २ हजार जनालाई राहत वितरण गरिएको हो। राहत शुक्रबारदेखि वितरण गरिएको उपमहानगरका प्रमुख घनश्याम पाण्डेले बताए। शुक्रबारसम्म ५ सय परिवारलाई राहत वितरण गरिएको हो। 

राहतस्वरुप अधिकतम् ३० केजी चामल उपलब्ध गराएको छ। तर परिवारमा सदस्य संख्या हेरेर राहत थपघट समेत गरिएको छ। राहत संकलनमा ऐक्यबद्धता जनाउन उपमहानगरपालिकाले गरेको आह्वानमा दाताहरुले उत्साहजन सहयोग गरेका छन्। शुक्रबारसम्म करिब साढे ३ लाख नगद र पौने १४ हजार केजी चामललगायत अन्य दैनिक उपभोग्य वस्तु वितरण गरिएको छ। त्यसबाहेक उपमहानगरले विपत् व्यवस्थापनका लागि ५० लाख रुपैयाँ नगरस्तरीय विपत् व्यवस्थापन समन्वय समितिमा जम्मा गरेको छ। 

ज्येष्ठ नागरिकलाई सतर्क रहन आग्रह

कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिकाहरुमा हुने भन्दै उनीहरुलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन ज्येष्ठ नगारिक संघ दाङले आग्रह गरेको छ। दाङमा झण्डै १२ हजार जना ज्येष्ठ नागरिक रहेका ज्येष्ठ नागरिक जिल्ला संघले बताएको छ।
  
कुकुरलाई मासुभात 

कोरोना भाइरस संक्रमणका कारण देशै लकडाउन भएपछि जिल्ला सुनसान छ। बन्दका कारण कुकुरहरुले आफ्नो आहारा पाउन सकेका छैनन्। जसले गर्दा कुकुर भोकभोकै पर्न थालेका छन्। ठूलो संख्यामा कुकुर मरे वातावरण प्रतिकूल हुन सक्ने भन्दै जिल्लामा कुकुरलाई खानेकुरा दिइन थालिएको छ। 

यस्तैमा तुलसीपुरका केही युवाले कुकुरलाई मासुभात खुवाउन थालेका छन्। त्यसपछि जिल्लाका विभिन्न बजारमा पनि कुकुर बचाउन अभियान नै सुरु गरिएको छ। तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, युवा व्यवससायी ललितजंग शाह, वडा ५ का सदस्य सुरेश श्रेष्ठलगायत अन्य युवाले दैनिक २५ केजी चामल र ५ केजी मासु पकाएर एक सय वटा कुकुरलाई खुवाउन सुरु गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.