भन्छन् : उपभाेक्ता र किसानबीच पुलकाे काम गरेका हाैं

|

भक्तपुर : किसानको बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति भएपछि भक्तपुरका युवाहरु उपभोक्ताको घर घरमा तरकारी पुर्‍याउने काममा जुटेका छन्। 

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेपछि कृषि उत्पादनले बजार नपाउने तथा उपभोक्ताले खान नपाउने  स्थिति छ। तर युवाहरुले किसानको बारीबाट सीधै उपभोक्ताको घरमा तरकारी पुर्‍याउने काममा जुटेका हुन्। 

भक्तपुरका अगुवा कृषकहरु यतिबेला किसानको बारीमा गएर तरकारी संकलन गरिरहेका गर्दै उपभोक्ताको घर घरमा लैजान व्यवस्त छन्। उनीहरु प्रत्येक दिन बिहान किसानको खेतमा गई तरकारी संकलन गर्ने, संकलित तरकारीलाई प्याकेजिङ गर्ने र उपभोक्ताको घर घरमा पुर्‍याउने काममा लागिपरेका छन्। 

आफूहरुले टोलटोलमा पुगेर बिक्री गर्ने तरकारी बजार मूल्यभन्दा ३० प्रतिशतसम्म सस्तो पर्ने दाबी पनि उनीहरुको छ। तरकारी प्याकेजिङ गर्दै गरेका किसान प्रचण्ड प्रधान कालिमाटीको तरकारी बजारको मूल्यलाई आधार बनाई हरेक दिन कृषकबाट तरकारी किनेर ढुवानी र ज्याला खर्च थप गरी सीधै उपभोक्ताकोमा लैजाने गरेको बताउँछन्।

‘भक्तपुरका स्थानीय वासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गर्छौं अनि सय÷पचास कति कति हुन्छ। हाम्रो ढुवानी भाडा पनि जोड्छौं, ज्याला पनि जोड्छौं। अनि खुद्रा पैसाको जोहो गर्न नपर्ने गरी ठिक्क पचासको ÷सयको प्याकेट बनाउँछौ,’ प्रधानले भने।

खेर जाने हरियो तरकारीमा २५ देखि ३० र खेर नजाने आलुप्याज जस्तो तरकारीमा १० देखि १२ प्रतिशत मार्जिन राखेर यी युवाले उपभोक्ताको हातसम्म तरकारी दिइरहेका छन्। 

'उपभाेक्ता र किसानबीच पुलकाे काम गरेका हाैं'

अहिले चाँगुनारायण र सूर्यविनायक नगरपालिका तथा वडाका पदाधिकारीसँग समन्वय गरेर तरकारी टोलटोलमा पुर्‍याउने गरिएको पनि बताए। अर्का अगुवा कृषक कुल बहादुर नेमाफुकी भन्छन्, ‘देशको स्थिति र किसानले भोगेको समस्या सुन्दा, उपभोक्ता र किसानबीच हामीले पुलको काम गर्नुपर्छ भन्ने सोच्यौं। किसानहरुको बिग्रन लागेको तरकारीलाई चलेको भाउमा किनेर घरबाट निस्कन नपाउने मान्छेहरुलाई, कोरोनाको त्रास भइराखेको अवस्थामा उहाँहरुको दैलो, चोकचोकमा तरकारी लैजाने हाम्रो ठम्याइ भयो।’ 

तरकारी बोकेका गाडी स्थानीय पदाधिकारी र स्वयम सेवकहरुसँगको समन्वयमा टोलटोलमा पुग्छ। अनि १/१ मिटरको दूरीमा रहेका उपभोक्तालाई प्याकेजिङ गरेको तरकारी दिने गरिन्छ। बिहान साँझ उपभोक्ताको घर घरमा पुर्‍याउने तरकारी वितरणमा पनि यो समूहले थप सतर्कता अपनाएको छ। 

तरकारीमा विषादि छर्दा लगाउने रेनकोट जस्तो पोसाक, पञ्जा, मास्क लगाएर तरकारी वितरण गर्ने गरिन्छ। गत वर्ष कृषि ज्ञान केन्द्रले विषादि छर्ने बेला लगाउन दिएको पोसाक नै किसानसँग मागेर अहिले तरकारी वितरणका बेला लगाउने गरिएको नेमाफुकीले बताए। तरकारी टोल टोलमा पुर्‍याउने कामको नेतृत्व गरेको जिल्ला कृषि सहकारी संघका अध्यक्ष शनिस लागेजुले संकटलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने निष्कर्षका साथ उपभोक्ताको हातहातमा तरकारी लगिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.