सोमबारबाट खान दिन्छौँ : नगरपालिका

|

काठमाडौं : लकडाउनको करिब दुई हप्ता भइसकेको छ। जोरपाटी चोकमा फाट्टफुट्ट सवारीसाधन चलिरहेका थिए। मान्छेहरुको भिडभाड थिएन। हिँड्दै गरिरहेका दुई/चारजना पैदलयात्रुको बीचमा एक महिला लुगा मिलाउँदै बसिरहेका थिइन्।

उनको छेउछाउमा कपडा छरपष्ट थियो, कुनै रातो लुगा कुनै सेतो। उनको पछाडि पानीको बोटल थियो अगाडि एक जेब्रा झोला। उनको बास र खानाको ठेगान छैन। नामसमेत उनी आफैँलाई थाहा छैन।

लकडाउनले खाना, खाजा नपाएको उनको अनुहारले प्रस्‍टै देखाउँथ्यो। उनीबारे जान्न थाहाकर्मीले प्रयास गर्दा उनले भनिन्,‘ म आफैँलाई नाम  र घर थाहा छैन।’ उनले प्राय जोरपाटी क्षेत्रमै बस्दै आएको भने सुनाइन्। ‘मागेकै भरमा कसैले पैसा दिए भने चिया बिष्कुट खान्छु,’निन्यारो अनुहारमा उनले थाहाखबरलाई भनिन्,‘अहिले किन हो मान्छेहरू बाहिर हिँडेका छैनन्। पैसा दिने मान्छे नभएर खान पनि पाएको छैन।’

उनको बोली चाँहि र स्वाभावअनुसार उनलाई कोरोना भाइरसबारे जानकारी छैन। उनलाई केही कुराको अन्योलता र चिन्ता मात्रै छ, किन अहिले सडकमा मान्छेहरु हिँडेका छैनन्? मागेर पेट पाल्ने पसल पनि किन बन्द छन्? कसरी रात दिन कटाउने? उनले अहिले कुनै पनि व्यक्तिले सहयोग नगरेको बताइन्।

नदेखेझैँ गर्छन् प्रहरी

उनले आफ्नो लुगा यताउती हातले चलाउँदै भनिन्,‘कसैले पनि अहिले खाना,खाजा दिएका छैनन्। पैसा पनि दिँदैनन्। अहिले रातमा पनि यहीँ सुत्छु।’ ती महिला बसिरहेको करिब तीन मिटर अगाडि नगरप्रहरी र प्रहरी लौरा समाएर बसिरहेका थिए। तर, उनीहरुले लकडाउनको बेला सहयोग गर्ने कुनै मानवीयता धर्म देखाएनन्। आँखाले नदेखेझैँ गरे।

सडकमा अहिले बस्दै गरेका यी त एक उदाहरण मात्र हुन्। लकडाउनले बाहिर, सडक सुनसान भएपछि यी महिला जस्तै सडकमा रातदिन बिताउने थुप्रै व्यक्तिहरु अहिले भोकभोकै बस्न बाध्य छन्। अहिले पनि बौद्ध,जोरपाटी,गोकर्ण सडकका पेटीमा सुतिरहेका देखिन्छन्। तर, व्यवस्थापन गर्नमा नगरपालिका र कुनै सरोकारवाला निकायले पहल गरेका देखिँदैनन्।

नगरपालिकाले कुपन बाँड्ने

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेका स्वकीय सचिव दीपेन्द्र राईले लकडाउनमा असहाय, गरिबी र सडकमा बसेकालाई सोमबारबाट खानाका लागि कुपन बाँड्ने बताए। उनले भने,‘सडकमा बस्दै आएका बेसाहारालाई व्यवस्थापन गर्न नगरपालिकाले वडा–वडालाई निर्देशन दिइसकेको छ। वडाहरूले सोमबारबाट कुपन बाँड्नेछ। नगरपालिकाले उनीहरुहरुलाई व्यवस्थापन गर्छ।’

गोकर्णेश्वर नगरपालिका-१ का अध्यक्ष राम मानन्धरले पनि सडकमा बस्ने कुनै असहाय व्यक्ति भेटिएमा वडाले व्यवस्थापन गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.