स्थानीय र जनप्रतिनिधिबीच दिनभर तनाव

|

बाँके: लकडाउनका कारण मजदुरी गर्न नपाएर खान समस्या भएका परिवारका लागि केएल दुग्गड ग्रुपले प्रदान गरेको खाद्यन्नमा कोहलपुर नगरपालिका १४ का जनप्रतिनिधिले हिनामिना गरेको आरोप लागेको छ।

केएल दुग्गड ग्रुपले एकसय ५० परिवारका लागि दिएको खाद्यान्नको प्याकेट मध्ये ६० बोरा जनप्रतिनिधिले आफ्नो घरमा लगेको अवस्थामा फेला पारेको स्थानीय टिपी न्यौपानेले बताए।

केएल दुग्गड ग्रुपले १४ नं. वडाका बिपन्न परिवारलाई वितरण गर्न १० किलो चामल, दुई किलो पिठो, एक-एक किलो रहर र चनाको दाल तथा एककिलो धारा तोरीको तेलको राहत प्याकेज बनाएर वडा कार्यालयलाई प्रदान गरेको थियो। उक्त खाद्यान्न मध्ये शुक्रबार ९० परिवारलाई वडा अध्यक्ष टेकचन हरिजनको अगुवाईमा वडा कार्यालयले वितरण गरेको न्यौपानेले बताए। उनले बाँकी ६० बोरा आइतबार बाड्ने भन्दै स्थानीय राम माविमा राखिएको खाद्यान्न वडा अध्यक्ष हरिजनले लुकिछिपी आफ्नो घरमा लैजाने क्रममा स्थानीय युवाको समूहले नियन्त्रणमा लिएको बताए।

‘वडा अध्यक्ष हरिजनले अटो रिक्सामा राखेर लैजाँदै गरेको खाद्यान्न रिहारमा फेला पारेर नियन्त्रणमा लियौँ,’ उनले भने, ‘नियन्त्रणमा लिएको खाद्यान्न आइतबार बाड्ने सहमति भएको खाद्यान्न जनप्रतिनिधिले रातको समयमा गायव बनाएको फेला पर्‍यो।’

विपन्न परिवारलाई वितरण गर्न ल्याइएको १६ बोरा खाद्यान्न स्थानीयले वडा नं. १४ का महिला वडा सदस्य रुक्मिनी शर्माको घरबाट नियन्त्रणमा लिएको स्थानीय पूर्णबहादुर सुनारले आरोप लगाए। शर्माको घरबाट नियन्त्रणमा लिएको खाद्यान्न पनि जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई वितरण गरेको उनले बताए। उनले अध्यक्ष हरिजनले ३२ बोरा, दलित महिला सदस्यले १३ बोरो खाद्यन्न घरमा लगेर हिनामिना गरेको बताए। ‘विपन्न परिवारलाई वितरण गर्न दिइएको ६० बोरा खाद्यान्न कसलाई वितरण गरियो। त्यसको हिसाव किताव देखाउनु पर्‍यो भन्ने हाम्रो माग हो,’ उनले भने। 

राहत खाद्यान्न हिनामिना गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरे। उनीहरूले जनप्रतिनिधिलाई वडा कार्यालयमा थुन्ने कोशिस समेत गरे। स्थानीयले जनप्रतिनिधिमाथि हातपात प्रयास गरेपछि प्रहरीले बचाउ गरे।

‘जनप्रतिनिधिलाई वडा कार्यालयभित्र राखेर बाहिरबाट ताला लगाउने योजनाका स्थानीय विहानैदेखि आन्दोलित भएका छन्,’ अर्का स्थानीय बसन्त मल्लले भने। वडासदस्य शर्माले ३२ बोरा वडा अध्यक्षले र १६ बोरा आफूले घर लगेको बताइन्।

अध्यक्ष हरिजनले आफ्नो छिमेकमा वितरण गर्न आफूले राम माबिमा राखिएको राहत सामग्री शुक्रबार राति घर लगेको स्वीकार गरे। तर उनले वितरण गरेका परिवारको नाम दिन सकेका छैनन्। ‘मैले लगेको ३२ बोरा खाद्यान्न शनिबार बिहानै आफ्नो छिमेकका गरिवलाई वितरण गरिसकेँ,’ उनले भने। 

अर्का वडा सदस्य मनप्रसाद गुरुङले वितरण गरेर बाँकी बचेको खाद्यान्न विद्यालयमा राख्ने र शनिबार वितरण गर्ने सल्लाह भएपछि शुक्रबार साँझ विद्यालयबाट घर गएको बताए। अध्यक्ष र सदस्यले राहत सामग्री घर लैजानु गलत भएको बताए। यसैबीच, राम माविका शिक्षक पवन यादवले स्थानीय महिलालाई धम्की दिएकाछन्।

राहत सामग्रीका बारेमा सोधखोज गर्ने क्रममा शिक्षक यादवले हवल्दारपुरमा बस्नु छ कि? छैन भनेर धम्की दिएको स्थानीय लक्ष्मी पुनले आरोप लगाइन्। उनले महिला सदस्य शान्ति सुनारले पनि आफूहरूमाथि नराम्रो व्यवहार गरेको बताइन्।

‘हामीलाई भोट नदिएकोले तिमीहरूलाई राहत पनि दिन्नौ भनेर हामीलाई हकारे,’ उनले भनिन् । राहत हिनामिना भएको विषयलाई लिएर स्थानीय र जनप्रतिनिधिबीच दिनभर वडा कार्यालयमा विवाद भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.