|

मनाङ : कोभिड १९को संक्रमण फैलिरहेको अवस्थामा सबै क्षेत्रमा औषधिको परिपूर्ति गर्ने कार्य भइरहेको छ। तर, मनाङको नार्पाभूमि गाउँपालिकामा भने सिटामोल पाउनै मुस्किल भएको छ।

अन्य समयमा त औषधिको अभाव रहने सीमा क्षेत्रमा लकडाउन र हिउँले बाटो नै बन्द रहेको अवस्थामा अझ कठिन छ। त्यसै त नेपाल र चीनको सिमानाको गाउँपालिकामा औषधिको आपूर्ति नै कम हुन्छ।

कोभिड १९ को संंक्रमण फैलिन नदिनका लागि देश लकडाउन अझ प्रभावित भएको छ।  यस्तो अवस्थामा गाउँपालिकावासीले सिटामोल नपाउँदा समस्या भएको बताउँछन्। लकडाउनको अवस्थामा यस गाउँपालिकामा सिटामोलसमेत पुर्‍याउन नसकिएको गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले बताए। बिरामी परेर औषधि आवश्यक परेमा गाउँपालिकाको भिमताङ, फु गाउँ, नार गाउँ, मेता गाउँ लगायतका गाउँबाट २ दिन लगाएर चामे पुग्नुपर्ने अवस्था भएको छ।

सवारीसाधनसमेत नचल्ने ठाउँ भएकाले पनि औषधि पुर्‍याउन समस्या भएको नार्पाभूमि गाउँपालिका–२ का वडाध्यक्ष मिङ्मार लामाको भनाइ छ। सबै ठाउँका स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले त्यसतर्फ भने चासो नदिएको स्थानीय बताउँछन्। सिटामोल लिनकै लागि २ दिन लगाएर चामे पुग्नुपर्ने बाध्यता रहेको स्थानीय कर्माडेन्डु लामाले बताउँछन्।

‘सामान्य रोगको औषधिसमेत नभएको ठाउँमा अन्य रोगको उपचार कसरी हुन्छ?, कोभिड १९ को संक्रमण फैलिन सक्ने भए पनि केही औषधि ल्याउन सकिएको छैन, धेरै समस्या छ,’ गाउँपालिका अध्यक्ष लामाले भने। स्थानीय सरकारले ल्याउने प्रयत्न गरेको भए पनि लकडाउनले गर्दा औषधि आइनपुगेको गाउँपालिकाको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.